२७ बैशाख २०८१, बिहीबार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

Harikrishna Karki

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । कार्की हाल कामु प्रधानन्यायाधीश छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानन्यायाधीशमा नियुक्तिअघि सार्वजनिक सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि अहिलेको सुनुवाइ समिति नबनेको अवस्था छ । कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका पदेन समस्य रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को दबाब परेको थियो । परिषद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना छन् ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा २०७८ फागुन १ मा संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए । उनीले उमेर हदका कारण असोज १५ गते अवकाश पाए । त्यसयता कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा कार्यसम्पादन गर्दै आएका थिए । जबरा पनि २७ मंसिर २०७९ बाट ६५ वर्षे उमेर हदका कारण निलम्बनकै अवस्थाबाट अनिवार्य अवकाशमा गएका छन् । झन्डै साढे १४ महिना सर्वोच्चले कायममुकायम प्रधानन्यायाधीशकै भरमा कार्यसम्पादन गर्‍यो ।

आज (सोमबार) संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै सर्वोच्चले नेतृत्व पाउने भएको हो ।

यस्तै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीशको नियुक्ति चाँडो गर्न चरणबद्ध आन्दोलन र सरकारलाई दबाब दिँदै आएको थियो । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न मागसमेत गरेको थियो ।

    सम्बन्धित समाचार...