५ जेष्ठ २०८१, शनिबार

अध्यक्ष ओली भन्छन्- कांग्रेस खोज्नुपर्छ भने राष्ट्रपति कार्यालय जानुपर्छ

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् । राष्ट्रपतिले शीतलनिवासमा अनावश्यक रुपमा सल्लाहकारहरु राखेको ओलीको आरोप छ ।

‘सरकार चलाउन १५ जनाभन्दा बढी मन्त्री राख्न नपाइने, राष्ट्रपतिलाई परराष्ट्र सल्लाहकार किन चाहियो ?’ आइतबार एमाले संसदीय दलको बैठकमा ओलीले राष्ट्ररपतिमाथि टिप्पणी गर्दै भने, ‘राष्ट्रपतिको मुख्य सल्लाहकार भनेको प्रधानमन्त्री हो । प्रधानमन्त्रीले जे सल्लाह दिन्छ, त्यसअनुसार चल्ने हो ।’ राष्ट्रपति कार्यालयमा अनावश्यक सल्लाहकारहरु नियुक्त गरिएको ओलीले आरोप लगाए । उनले भने, ‘एकाध मान्छे राख्नु, एक-दुईजना मान्छे राख्नु, मस्यौदा वक्तव्य ट्रान्सकाइभ गर्नका लागि राख्नु एउटा कुरा हो । राष्ट्रै चलाउनेजस्तो गरेर परराष्ट्रविद्, अर्थविद्, अर्थशास्त्री, परराष्ट्रशास्त्री, पूर्वगभर्नर, पूर्व केजाति, पूर्वमन्त्री, पूर्व के ! कांग्रेसजति खोज्नुपर्छ भने अहिले राष्ट्रपति कार्यालयमा जानुपर्छ ।’

ओलीले अगाडि भने, ‘कांग्रेस तीन ठाउँमा भेटिन्छन् । प्राय: अलिअलि सरकारतिर भेटिन्छन्, अलिअलि कहिले-कहिले संसद्‌मा भेटिन्छन् । सानेपामा अलिअलि भेटिन्छन्, बाँकी राष्ट्रपतिको कार्यालयमा भेटिन्छन् ।’

एमाले सांसदहरुलाई सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुन आग्रह गरेका एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीले रामचन्द्र पौडेलको आलोचना नगरेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘सञ्चारजगत् यस्तो भन्छ कि विद्या भण्डारी कुदाउनुहुन्छ रे १६ करोडको गाडी । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल कुदाउनु हुन्छ रे २०/२५ लाख, ३५ लाख, कतिको गाडी । सरकारले दिएको खटारा चलाउनेचाहिँ १६ करोडको चलायो भन्ने । के बुद्धि होला ? के मति होला ? कसरी त्यस्तो चित्रण गर्न सक्या होला ? अलिकति सरम पनि होला नि । लेख्नेहरुलाई पनि सरम हुनुपर्ने, बोल्नेहरुलाई पनि सरम हुनुपर्ने ।’

उनले थपे, ‘राष्ट्रपति कहिले-कहिले हेलिकोप्टर चढ्छ । पूर्वराष्ट्रपति त्यतिबेला राष्ट्रपति छँदा हेलिकोप्टर चढेको । हेलिकोप्टरको जति दाम पर्‍यो, त्यति अरबको हेलिकोप्टर चढ्यो भन्ने । अहिलेको राष्ट्रपति चढ्दाखेरि चाहिँ योचाहिँ कुनै विषय होइन ?’

अहिलेका प्रधानमन्त्री र मन्त्रीहरुले काम नगरेको र भात मात्रै खाएको ओलीले आरोप लगाए । ओलीले सरकारको कडा आलोचना गर्दै भने, मन्त्रीजीहरु बिहान भात खायो मन्त्रालय गयो, बेलुका फर्कियो भात खायो सुत्यो । केचाहिँ काम भएको छ त ? के गर्न गएको सरकारमा ? रिबन काट्ने, बत्ती बाल्ने, भाषण गर्ने, प्रतिपक्षलाई गाली गर्ने । सरकारी काममा प्रधानमन्त्रीको हैसियतले माखो नमार्ने, प्रधानमन्त्रीले के गर्नुहुन्छ ?

एमाले संसदीय दलमा ओलीको सम्बोधनको अंश उनकै शब्दमा :

प्रधानमन्त्रीजीलाई चुनौतीका साथ भन्न चाहन्छु- देखाउनुस्

हिन्दीमा एउटा भनाइ छ उल्टे चोर कोतवाली डाँटे । चोरले उल्टै हवल्दारलाई हप्काइ-दप्काइ गर्छ भनेजस्तै यहाँ छानबिन गर्न छाडेर मलाई चाहिने चिसो भुइँमा बस्न पठाउने भन्ने ? हामीले पठाएको हो ? आफैं गएको होइन ? चिसो भुइँमा बस्यो भनेर मेरो खिल्ली उडाउनेहरु, मजाक उडाउनेहरुलाई देखाइदिन्छु भन्नेलाई के भन्ने रु त्यसको छानबिन गर्नुपर्छ कि ? त्यस नाउँमा देखाइदिन्छु भन्ने ? के देखाइदिन्छु भनेको ? म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, चुनौतीका साथ- देखाउनुस् है के के देखाउने हो ।

कोही दोषी छ, दोषीमाथि कारबाही हुनुपर्छ भन्नेमा नेकपा एमाले किञ्चित तलमाथि गर्दैन । मैले त भनेकै छु कडाइका साथ छानबिन गर्नुस्, कारबाही गर्नुस् । तर एउटा कुरो जसरी एमालेका विरुद्ध क्याम्पेन लान खोजिँदै छ यस प्रसंगमा । व्यक्ति दोषी होला कोही म जान्दिनँ । छ/छैन पछि तथ्यहरुले बताउला । तर एमालेलाई जसरी घसिट्न खोजिएको छ, त्यो दुस्प्रयास कसैले नगरे हुन्छ ।

नेकपा एमालेले ठूला-ठूला दमनहरु देखेको छ । इन्टरनेसनल परिघटनाहरु पनि नेकपा एमालेले देखेकै छ । हिजो पुष्पकमल दाहालको अभिव्यक्ति र चेहेरामा जिया उल हक झल्किएको छ । मलाई ताज्जुब लाग्छ । केको फुर्ती गर्‍या हो ? कसैलाई छोड्दिनँ भन्या छ । प्रधानमन्त्रीले छोड्ने र नछोड्ने हो र रु कानुनले होला नि । तथ्य प्रमाणले होला नि छोड्नेरनछोड्ने । म झुक्दिनँ भन्या छ । अनि प्रधानमन्त्रीले हो र यसको छानबिन गर्ने ? यसको मेकानिजम होला ।

कसलाई फसाउँ र नफसाउँ भन्नेखालका कुरा, कसलाई बचाउ, कसलाई फसाउ यसखालका कुरा त्यो ट्युनभित्र यसखालका कुरा लुकेको छ भने यो सफल हुन दिइने छैन । र म हाम्रो मान्यजीहरुलाई भन्न चाहन्छु । संसदीय संघर्षको मैदानमा नेकपा एमाले कमजोर बन्ने होइन । यसले भ्रष्टाचारका विरुद्ध स्वच्छताको पक्षमा, नीतिगत भ्रष्टाचार पनि हुनुहुँदैन, अरु प्रकारका भ्रष्टाचार पनि हुनु हुँदैन । अहिले त अचानक बडो पपुलर हुनका लागि भ्रष्टाचारविरोधी ।

म विगतका पनि धेरै कुरा सम्झन चाहन्नँ । अहिले भइरहेका पनि कतिपय कुराहरुको धेरै चर्चा गर्न चाहन्नँ । देशप्रति जिम्मेवार हुनुपर्‍यो । बेठीक कुराका विरुद्धमा उभिनुपर्‍यो । ठीकको पक्षमा उभिनुपर्‍यो । सरकार पूर्वाग्रही भएर प्रतिपक्षको विरुद्ध खनिने ? हिजोको बोलाइ थियो, ‘सोझै हिउँदका महिनामा मलाई सडमा पुर्‍याएका थिए, चिसो सडकमा बसाएका थिए ।’ यो नक्कली शरणार्थी प्रकरण र पुसमा उहाँ माइतीघरमा गएर पलेंटी कसेर हामी यहाँ छौं भनेको कुरा जोडियो कसरी ? उहाँलाई मैले समातेर लगेर त्यहाँ राखेको हो ? आफू गएर बस्ने अनि हामीलाई भन्ने ? अहिले आएर चिसो सडकमा मलाई बसका थिए भन्ने ? यसमा छानबिनको निष्पक्षता हुनुपर्‍यो ।

सरकारले पार्लियामेन्टलाई बिजनेस दिन सकेन ।

म सरकारी मेकानिजम माथि सन्ध्या गरिरहेको छैन । प्रधानमन्त्रीको जस्तो अभिव्यक्ति आयो, त्योचाहिँ शंकारहित छ भनेर बस्न सकिने खालको छैन । केही तत्त्वहरू, जो सधैं एमालेको विरोध गर्छन् । एमालेले विकासको लहर ल्याउँदा पनि तिनको मन पोल्छ । शिक्षाको क्षेत्र होस्, स्वास्थ्यको क्षेत्र होस्, कृषिको होस्, उद्योगको होस् र अरु विभिन्न क्षेत्र होस् एमालेले जस्तो प्रगति छिटो रफ्तारमा गर्‍यो, त्यो पचाउन नसकेर बर्बराउनेहरु, एमालेलाई गाली गर्नेहरुले अहिले त कमसेकम आत्मआलोचना गर्नुपर्ने । लाज मान्नुपर्ने त्यसबेला विरोध गरेर गल्ती गरिएछ भनेर । यहाँ फेयर खेल मात्र हुन खोजेको छैन । त्यसकारण हामी त्यो सजकता, सतर्कता र तत्परतका साथ प्रस्तुत हुन जरुरी छ ।

म हाम्रा माननीयज्यूलाई भन्न चाहन्छु । अघि हाम्रो प्रमुख सचेतकले भन्नुभयो, अघिल्लो हाम्रो एउटा अधिवेशनमा सरकारको त ध्यान पनि गएन अधिवेशनतर्फ खेरै गयो । हामीले जति भने पनि सरकारको ध्यान अधिवेशनतर्फ जानै सकेन । त्यो खेरै गयो ।

बिजनेस सरकारले दिनुपर्छ पार्लियामेन्टलाई । सरकारले पार्लियामेन्टलाई बिजनेस दिन सकेन । कुनै पनि कुरा यत्रो समयसम्म भएको छैन । न समिति बनेका छन् । मंसिर ४ गते चुनाव भयो । पुस १० गते सरकार नै बन्यो । त्यसबाट पोख्ने उठाउने पोख्ने उठाउनेबाहेक यो सरकारले के गर्‍यो ? केही गरेन । अब हामीले सरकारलाई काम गर भनेर प्रभावकारी ढंगले दबाब दिनुपर्‍यो ।

सरकार के हेरेर बस्छ ? विधेयक किन ल्याउँदैन ? काम किन गर्दैन ? एग्रेसिभली हामीले सरकारलाई दबाब दिनुपर्छ, काम गर्न बाध्य पानुपर्छ । सरकारलाई विधेयक ल्याउन बाध्य पानुपर्छ ।

देश बर्बाद भइरहेको छ, के गर्ने भन्ने सरकारसँग उपाय छैन । कुनै मतलब पनि छैन सरकारलाई । मन्त्रीजीहरु बिहान भात खायो मन्त्रालय गयो, बेलुका फर्कियो भात खायो सुत्यो । केचाहिँ काम भएको छ त । के गर्न गएको सरकारमा ? रिबन काट्ने, बत्ती बाल्ने, भाषण गर्ने, प्रतिपक्षलाई गाली गर्ने ।

सरकारी काममा प्रधानमन्त्रीको हैसियतले माखो नमार्ने । प्रधानमन्त्रीले के गर्नुहुन्छ ? सरकार फुटाउने, सरकार भत्काउने, यताबाट उता सर्ने, उताबाट उता सर्ने, आज एउटाको पिँढीमा देखिने भोलि एउटाको पिँढीमा देखिने । त्योबाहेक के गर्नुभएको छ ? खाली प्रतिपक्षमाथि हमला हुन्छ । खासगरी नेकपा एमालेमाथि हमला हुन्छ । उनीहरु अत्यन्त अशिष्ट छन्, अमर्यादित छन् । हिजो यति अमर्यादित कि अनावश्यक ढंगले राष्ट्रपतिको यसरी विरोध गरे कि गरेको गरै अभद्र, अशिष्ट ढंगले गरे ।