१४ बैशाख २०८१, शुक्रबार

मतदाता परिचयपत्रमा कर्मचारीले जानीबुझी कुकुरको फोटो राखिदिएको आरोप

voter id

भारतको पश्चिम बंगालमा एक व्यक्तिको मतदाता परिचयपत्रमा नाम, ठेगाना सबै सही छन् तर तस्वीर राख्नुपर्ने ठाउँमा कुकुरको फोटो राखिएको छ ।

कुकुरको फोटो भएका व्यक्ति सुनील करमाकर हुन् । उनी पश्चिम बंगालको मुर्शिदाबादमा बस्छन् ।

करमाकरले भारतको निर्वाचन आयोगविरुद्ध मानहानिको मुद्दा दायर गर्ने बताएका छन् ।

६४ वर्षीय करमाकरले भने, ‘आयोगका अधिकारीले मेरो मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखेछन् । मैले सुधारका लागि निवेदन दिएको थिएँ । तर उनीहरूले सुधार गरेनन् ।’

कर्मचारीहरूले जानीबुझी गल्ती गरेको करमाकरको भनाइ छ । यसले गर्दा आफ्नो सार्वजनिक बेइज्जती भएको र मजाक उडाइएको उनले बताए ।

आयोगका अधिकारीलाई यसबारेमा सोध्दा गल्ती कसरी भयो, थाहा नभएको बताए । तर करमाकरको मतदाता परिचयपत्रमा भएको गल्ती सुधारिएको अधिकारीको भनाइ छ ।

मुर्शिदाबादमा सुनील करमाकर मात्र नभई ८ लाख ३० हजार मानिसले मतदाता परिचयपत्रमा भएका गल्ती सुधार्न निवेदन दिएको बताइएको छ । एजेन्सी