२४ बैशाख २०८१, सोमबार

डाटा हराएपछि लोकसेवाले पुनः दरखास्त आह्वान गर्ने

for slider lok sewa

लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा परेको हो। आयोगले दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्दै यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने भएको हो।

‘पूर्वप्रकाशित उक्त विज्ञापनमा दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्ने र परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रियामा आयोग रहेको छ। आगामी दिनमा यस किसिमको समस्या आउन नदिन ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

लोकसेवा आयोगबाट प्रकाशन हुने विज्ञापनमा दरखास्त दिने उम्मेदवारको सहजता र आयोगको प्रशासनिक तथा व्यवस्थापकीय कार्य छिटोछरितो सम्पादन गर्न २०७१ सालदेखि पब्लिक सर्भिस रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (पीएसआरएमएस) अनलाइन प्रणाली सरकारी एकीकृत डाटा सेन्टरको पूर्वाधारमा होस्ट गरी सञ्चालन गर्दै आएको आयोगले जनाएको छ। गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...