१७ बैशाख २०८१, सोमबार

अमेरिका र दक्षिण कोरियाबीच परमाणु हतियार सम्पन्न पनडुब्बी तैनाथ गर्नेसहितको योजनामा सम्झौता

usa southkorea

अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलबीच दक्षिण कोरियामा परमाणु हतियार सम्पन्न पनडुब्बी तैनाथ गर्ने लगायतका योजनासहितको नयाँ सम्झौतामा हस्ताक्षर भएको छ ।

यसको बदलामा दक्षिण कोरियाले परमाणु हतियार विकास गर्ने दिशातिर नलाग्ने प्रतिबद्धता जनाएको छ । अमेरिकाले यो नयाँ सम्झौता गर्नुको उद्देश्य दक्षिण कोरियाप्रतिको आफ्नो समर्थन दोहोर्‍याउनु र उत्तर कोरियाबाट दक्षिणमाथि हुन सक्ने आक्रमणलाई रोक्नु रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले टिप्पणी गरेका छन्। अमेरिकाको राजकीय भ्रमणमा रहेका यून र बाइडेनबीच वासिङ्टनमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

वासिङ्टन घोषणापत्र नाम दिइएको उक्त सम्झौताले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बाइडेनले जनाएका छन् । यस्तै दक्षिण कोरियाली राष्ट्रपति यूनले सम्भावित खतराको रोकथामका लागि अभूतपूर्व कदम भन्दै सम्झौताको प्रसंशा गरेका छन् ।

उत्तर कोरियाका तर्फबाट बढ्दो परमाणु जोखिम र त्यसले उब्जाएको चिन्ताकाबीच दुवै देशले यस्तो सहमति गरेका हुन् । पछिल्ला दिनमा उत्तर कोरियाले अमेरिकासम्म सोझै मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्रका साथै उल्लेख्य संख्यामा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको परमाणु कार्यक्रम र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध लगाए पनि प्योंगयांगले त्यसलाई बेवास्ता गर्दै आएको छ ।

    सम्बन्धित समाचार...