१ जेष्ठ २०८१, मंगलवार

घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ ।

बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायमान बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । एमालेलाई सिद्ध्याउन गरिएको मोर्चा बन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उहाँले बताउनुभयो । उहाँले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताउनुभयो ।

“खेतको होस् या बारीको पाटो, सहर, गाउँ बस्ती, देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ”, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह गर्नुभयो ।

उहाँले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीव्र बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।