२२ बैशाख २०८१, शनिबार

कामका लागि युरोप जाने युवाको सङ्ख्या बढ्दो

employment
फाइल फोटो

चितवनका विमल कार्की साइप्रस गएको छ महिना भयो । श्रम स्वीकृति लिएर गएका उनी त्यहाँको एउटा ‘प्याकिङ कम्पनी’मा काम गर्दै आएका छन् ।

नेपालबाट जाँदा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई करिब साढे चार लाख बुझाएर गएका थिए। अहिले उनको मासिक ९० हजार रुपैयाँ तलब छ । खाने, बस्ने खर्च कम्पनीले नै बेहोर्ने भएकाले उनले कमाएको लगभग सबै बचत हुन्छ । उनीजस्तै गरी पछिल्लो चैत महिनामा मात्रै साइप्रसका लागि ३६२ जनाले श्रम स्वीकृति लिएका छन् । नौ महिनाअगाडि रोमानियामा गएकी मधु अधिकारीको पनि राम्रै कमाइ छ ।

मासिक ८० हजार तलब बताउने अधिकारीले समयमा तलब दिने भएकाले आफू सन्तुष्ट भएको म्यासेन्जरमार्फत जानकारी गराईन्। वैदेशिक रोजगार विभागका अनुसार गएको चैत महिनामा रोमानियाका लागि एक हजार ४७५ जनाले श्रम स्वीकृति लिएका छन् । रोमानियामा पाँच वर्ष काम गरेपछि आप्रवासी श्रमिकले ‘पीआर’ पाउँछन् । पीआर पाएपछि परिवार लैजान सकिन्छ । आधारभूत अङ्ग्रेजी भाषा जान्नेका लागि रोमानियामा काम गर्न धेरै सहज हुने मधुको अनुभव छ ।

त्यस्तै तीन वर्ष कतारमा काम गरेर नेपाल फर्किएका अर्जुन ओझा यतिबेला रोमानियामा पुगेका छन् । उनी पाँच महिनाअघि त्यहाँ पुगेका हुन्। उनी त्यहाँ एउटा घरको बगैँचामा काम गर्छन् । कमाइ मासिक ७० हजार रुपैयाँ छ । पछिल्लो समय युरोप जाने युवाको सङ्ख्या बढ्दो छ । राम्रो कमाइ हुने आसमा एक जनाले सात लाखदेखि १२ लाख रुपैयाँसम्म पनि एजेन्ट तथा म्यानपावरलाई बुझाउने गरेको पाइन्छ । युरोप रोजगारी मोहमा कतिपय युवालाई एजेन्टले अलपत्रसमेत पार्ने गरेका घटना बाहिरिरहेका छन् तर जोखिमै मोलेर पनि युवा युरोप पुगिरहेका छन् । गोरखापत्र दैनिकबाटकामका लागि युरोप जाने युवाको सङ्ख्या बढ्दो

    सम्बन्धित समाचार...