२१ बैशाख २०८१, शुक्रबार

गुणस्तरीय मिनरल वाटर निर्यातका लागि तयार

water

नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी पारित गरेको हो । यसअघि बोतल र ड्रिङ्किङ वाटरको गुणस्तर मापदण्ड तयार भए पनि मिनरल वाटरको गुणस्तर निर्धारण र सोसम्बन्धी गुणस्तर मापदण्ड पारित भएको थिएन ।

विभागको हालै भएको गुणस्तर परिषद्को १०८औँ बैठकले पानीको गुणस्तर मापदण्ड पारित गरेको हो । पानीको गुणस्तर तयार भए पनि निर्यात गर्न व्यवसायीलाई सहज हुने भएको छ ।

विभागका प्रवक्ता ज्योति जोशी भट्टले मिनरल वाटरको गुणस्तर तयार गरी पारित गरिएको जानकारी दिए । पानीको गुणस्तर तयार भएपछि यसको आधारमा विभागले सर्टिफिकेट उपलब्ध गराउने हुँदा व्यवसायीलाई पानी निर्यात गर्न सहज हुने उनको भनाइ छ । पानीको गुणस्तर मापदण्ड पारित भएसँगै पानीको निर्यात गरेर विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।

पानीको गुणस्तर तयार भएसँगै व्यवसायीले विभागबाट गुणस्तर (एनएस) चिह्न प्राप्त गर्नेछन् । पानीको गुणस्तर हुँदा निर्यात गर्न सहज भई पानीको विश्वसनीयतासमेत कायम हुने विभागले जनाएको छ ।

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...