१६ बैशाख २०८१, आईतवार

च्याम्पियन्स लिग: बायर्नलाई पाखा लगाउँदै सिटी सेमिफाइनलमा

city

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । सिटीले समग्रमा बायर्न म्युनिखविरुद्ध ४ – १ गोलको जित दर्ता गरेको हो ।

पहिलो लेगमा ३ – ० गोलले अघि रहेको सिटी दोस्रो लेगमा १ -१ गोलको बराबरीमा रोकियो । अलियान्ज अरिनामा भएको खेलको पहिलो हाफमा कुनै गोल भएन ।

थोमस टुखेलको टोली बायर्नले खेलमा फर्किने धेरै अवसरहरु गुमायो । यता सिटीका लागि पनि अर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्ने मौका गुमाए । तर ५७ औँ मिनेटमा हालान्ड गोल गर्न सफल भए । केभिन डि बु्रयनाले दिएको पासमा उनले काउन्टर अट्याकमा अघि बढ्दै उत्कृष्ट गोल गरेका हुन् । नर्वेका हालान्डको यो सिजनको ४८ औँ गोल हो । साथै उनी इंग्लिस क्लबबाट युरोपेली प्रतिस्पर्धामा सबैभन्दा धेरै १२ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा योसुवा किमिखले पेनाल्टीमा बराबरी गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । योसँगै ६ पटकको युएफा च्याम्पियन्स लिगको विजेता बायर्नलाई स्तब्ध पार्दै पेप ग्वार्डिवालाको टोली सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । अब सिटीले साविक विजेता रियाल मड्रिडसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित समाचार...