३१ बैशाख २०८१, सोमबार

वैशाख ७: नेपालले अङ्ग्रेजलाई पराजित गरेको जितगढी उत्सव

Jitgadhi

बुटवलको जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसीयालीमा जित गढी उत्सव शुरु भएको छ ।

१८७२ वैशाख ७ गते जित गढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले जित गढी उत्सव मनाइँदै आएको छ ।

जित गढी उत्सवका अवसरमा जित गढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गर्ने र पैदल यात्रा समापन गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

नेपाल–अङ्ग्रेज युद्धको पृष्ठभूमि र किल्लाको जानकारी

२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अङ्ग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अङ्ग्रेज फौजसँग लडाई भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अङ्ग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अङ्ग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अङ्ग्रेज फौज जित गढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अङ्ग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो ।

जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अङ्ग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अङ्ग्रेजहरूलाई पराजित गरे । अङ्ग्रेजतर्फ ठूलो क्षति भयो ।

पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अङ्ग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल ग¥यो । युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ ।

भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तीनपटक मन्दिर घुमाइन्छ । दिउँसो बली दिएपछि रथलाई उठाउने चलन छ । रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ । रथलाई मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ ।

यस्तो छ गढी

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्बाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ ।

करिब बाह्र लाखदेखि पन्ध्र लाख इँटा प्रयोग भएका र इँटाहरूका कोही १० इन्च वर्गाकारका तथा केही इँटाहरूको लम्बाई चौडाई क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरू जस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरूको निर्माण गरिएको छ ।

पुरातात्त्विक र ऐतिहासिक महत्त्व बोकेको यो गढी १६ औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामाकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले जित गढी भनिएको जनश्रुति रहेको छ ।

वि.सं. २०५२ सालमा पुरातत्त्व विभागले देशभरका गढीहरू संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघि देखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन ।

आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ मा पुरातत्त्व विभागले दुई पटक उत्खनन गरेको थियो । उत्खननका क्रममा जित गढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिए पनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएनन् । यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्त्व विभागबाट उत्खनन् गराएको थियो ।

    सम्बन्धित समाचार...