२२ बैशाख २०८१, शनिबार

इंग्लिस प्रिमियर लिग: अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो आर्सनल

arsenal

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामसँग शीर्ष स्थानको आर्सनल २ – २ गोलको बराबरीमा रोकिएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाँडेको हो ।

लन्डन स्टेडियममा भएको खेलमा पाहुना टोली आसर्नलले सुरुवाती १० मिनेटमै दुई गोलको अग्रता बनाएको थियो । सातौँ मिनेटमा गाब्रियल जेसुसले पोस्ट नजिकैबाट गोल गरे । त्यसको ३ मिनेटपछि मार्टिन ओडेगार्डले भलि गोल गरी मिकेल आर्टेटाको टोली आर्सनललाई २ – ० ले अघि बढाए ।

३३ औँ मिनेटमा घरेलु टोली वेस्ट ह्यामले पेनाल्टीमा १ गोल फर्कायो । गाब्रियलले लुकास पक्वौटामाथि फउल गरेपछि पाएको पेनाल्टीमा सेड बेनराहमाले गोल गरेका हुन् । ५२ औँ मिनेटमा आर्सनलले पेनाल्टीको अवसर पाएको थियो । तर बुकायो शाकाले त्यसलाई सदुपयोग गर्न सकेनन् । त्यसको ३ मिनेट पछि वेस्टका लागि जेरोड बावेनले उत्कृष्ट भलि गोल गर्दै खेललाई बराबरीमा ल्याए । बाँकी समय आर्सनलले गोल फर्काउन सकेन र महत्वपूर्ण अंक गुमाउन पुग्यो ।

आर्सनलको ३१ खेलबाट ७४ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४ अंकले पछाडि परेको छ ।

यता म्यानचेस्टर युनाइटेडले रेलिगेसन ब्याटलमा रहेको नटिंघम फरेस्टमाथि २ – ० गोलको सहज जित दर्ता गरेको छ । ३२ औँ मिनेटमा एन्टोनीले गोल गरे । उनले मिलाइदिएको पासमा ७६ औँ मिनेटमा डियागो डालोटले युनाइटेडको अग्रता दोब्बर बनाए । तेस्रो स्थानको युनाइटेडको ३० खेलबाट ५९ अंक छ । १७ औँ स्थानको नटिङघमको ३१ खेलबाट २७ अंक छ ।

    सम्बन्धित समाचार...