२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छु : नवनियुक्त परराष्ट्रमन्त्री साउद

np saud 1

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाइहाल्ने जनाएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीको जिज्ञासामा उनले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमसँग ब्रिफिङ लिएर काम अघि बढाउने जानकारी दिए ।

उनले आफूले नेपाललाई विश्वभर शान्तिप्रिय र लोकतान्त्रिक देशका रुपमा चिनाउन पहल गर्ने प्रतिबद्धता जनाए । मन्त्री साउदले छिमेकीसहितका देशहरुसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

‘नेपाल शान्तिपूर्ण मुलुक हो । हामी संसारका सबै देशहरुसँग हाम्रो लामो समयदेखि इतिहासदेखि नै अत्यन्त सौहार्दपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रही आएको छ । हामीले आगामी दिनमा पनि विश्वभरका देशहरुसँग, छिमेकीहरुसँग हामीले आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौं । र, यसरी हामी नेपाल एउटा शान्तिप्रिय देशका रुपमा, एउटा लोकतान्त्रिक देशको रुपमा विश्वभर चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘यसमा हामी छलफल अगाडि बढाउँछौं । भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यूलगायत टिमहरु त्यसमा संलग्न हुनुहुन्छ । म सबै कुराको बारेमा ब्रिफिङ लिएर अनि त्यसको बारेमा भन्नेछु ।’

त्यस अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्च पदस्थ कर्मचारीहरुले मन्त्री साउदको स्वागत गरेका थिए ।

    सम्बन्धित समाचार...