४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ : ओली

kp oli
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रकट हुने अवसरवादी चरित्रका कारण मुलुकलाई स्थिरतातर्फ लैजान गरिएको एमालेको प्रयास सफल हुन नसकेको बताएका छन् ।

नयाँ वर्ष २०८० को अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सिद्धान्तहीन सिन्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्नु आजको अनिवार्य आवश्यकता भएको समेत बताए ।

“बितेको वर्षमा भएको आम निर्वाचनमा हामीले चाहेजस्तो बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्दा गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरूपयोगमा सक्रिय छ । राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ,” शुभकामना सन्देशमा उल्लेख छ ।

एमालेले सरकार छोडेपछि राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा अवरूद्ध भएको भन्दै ओलीले विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरे पनि अवसरवादी चरित्रका कारण उक्त प्रयास सफल नभएको बताए ।

आफूले सुरू गरेको विकासको राष्ट्रिय बहस सेलाएको र त्यसको ठाउँमा सत्ताशक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्य स्रोतको दोहन मौलाएको उनले उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेको ‘मिसन ग्रासरूट अभियानलाई सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।