२ जेष्ठ २०८१, बुधबार

शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री

shekhar koirala gagan thapa
फाइल फोटो

सरकारले यस वर्षको अन्तिम दिन पूर्णता पाउने संकेत गरेको छ। मन्त्रिपरिषद् विस्तारका लागि कांग्रेसको संस्थापनइतर पक्ष यतिबेला बालुवाटारमा छलफल गरिरहेको छ।

बालुवाटारस्थित् शेखर कोइरालाको सचिवालयमा भइरहेको छलफलमा संस्थापनइतर समूहका वरिष्ठ नेता कोइरालासहित महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेका छन्।

सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम मागेपछि सो समूह नाम टुङ्गयाउन छलफलमा कस्सिएको हो।

गठबन्धनको भागबण्डा अनुसार कांग्रेसको भागमा परेको ८ मन्त्रालयमध्ये सभापति देउवाले यसअघि पूर्णबहादुर खड्का, प्रकाशशरण महत, सीता गुरूङ र रमेश रिजालगरी ४ जनालाई मन्त्री बनाइसका छन्।

शेखर समूहले ३ मन्त्रालय आफूहरुलाई पाउनुपर्ने भन्दै साँतौ पटकको मन्त्रिपरिषद् विस्तारमा असन्तृष्ट हुँदै नाम नदिँदा देउवाले आफूपक्षिय सांसद्‍हरुलाई मात्र मन्त्रिपरिषद‍मा सहभागी गराएका थिए।

देउवाले शेखर समूहलाई चाँडो मन्त्रीहरुको नामदिन निर्देशन दिएपछि शेखर समूह क-कसलाई मन्त्री बनाउनेबारे अहिले छलफलमा जुटिरहेको र मन्त्रीको नाम टुङ्गयाइ देउवालाई बुझाएपछि देउवाले उनीहरुको नामसहित आफ्नो समूहबाट मन्त्री हुनेहरुको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने तयारी गरेका छन्।

प्रधानमन्त्री दाहाल कांग्रेसबाट मन्त्रीको नाम आउने बित्तिकै नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सभापति देउवाले भने अब हुने मन्त्रिपरिषद् विस्तारमा आफ्नो समूहबाट एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने सहमति गरिसकेको देउवानिकट स्रोतले जनाएको छ।

शेखर समूहले देउवासँग तीन मन्त्रालय मागेपछि मन्त्रिपरिषद्‍ विस्तारमा ढिलाइ भएको हो।