७ जेष्ठ २०८१, सोमबार

गणपुरक संख्या नपुगेपछि बुधबार प्रतिनिधिसभा बैठक स्थगित, वैशाख ३ गते बस्ने

nepal parliament building

गणपुरक संख्या नपुगेपछि बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक वैशाख ३ गते बस्ने गरी स्थगित भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्वन्धी विधेयक २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो । प्रस्ताव प्रस्तुन गर्नुअघि एमाले सचेतक महेश बर्तौलाले गणपुरक संख्या यकिन गर्न माग गरेका थिए । त्यसलगत्तै सत्तारुढ दलका सांसदले पनि अनुमानका भरमा गणपुरकको प्रश्न उठाइएको भन्दै आपत्ति जनाएका थिए ।

संविधानको धारा ९४ मा संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्यको एक चौथाई सदस्य उपस्थित नभए बैठक अघि नबढ्ने प्रावधान छ । २ सय ७५ सांसदको एकचौथाइ संख्या अर्थात् ६९ सांसद उपस्थित हुनुपर्नेमा आज ६१ जनामात्रै उपस्थित थिए ।

यसअघि सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद तोसिमा कार्कीले निर्माणाधीन समिट अपार्टमेन्ट भवन नक्सापास, वातावरणीय प्रभाव मूल्यांकन र इजाजत नलिइ निर्माण गरिएको भन्दै अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी थिइन ।

सांसदहरुले सवारी दुर्घटना, मिटरब्याज, स्मार्ट टेलिकमको नवीकरण, किमाथाङका नाका खोल्न र समान पेन्सनका लागि बेलायती गोर्खा सैनिकद्वारा गरिरहेका आन्दोलनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित समाचार...