२९ बैशाख २०८१, शनिबार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन दोस्रो चरणमा प्रवेश

fncci election

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

पहिलो चरणको मतगणनाबाट सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

धेरै मत ल्याएका रामचन्द्र संघई र अञ्जन श्रेष्ठबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । तेस्रो प्रतिस्पर्धीका रुपमा रहेका उमेशलाल श्रेष्ठ भने दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि जिल्लानगर, वस्तुगत र एसोसिएटतर्फको मतभार जोडिन्छ । महासंघमा एसोसिएटतर्फको मतभार ३० प्रतिशत हुन्छ । यस्तै, सबैभन्दा धेरै जिल्लानगरको ५० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुन्छ । अहिले वस्तुगततर्फको मतगणना भइरहेको छ ।

८० प्रतिशत मतभारको गणना सकिँदासम्म कुनै उम्मेदवारको ५० प्रतिशत कटेको छैन ।

एसोसिएटको नतिजाले वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने देखिएको हो ।

उपाध्यक्षमा जिल्लानगर र एसोसिएटतर्फ संघई समूहले जितेको छ । संघई समूहबाट सुरजकृष्ण वैद्य जिल्लानगर र एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।

उमेशलाल प्यानलबाट वस्तुगततर्फ हेमराज ढकाल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

    सम्बन्धित समाचार...