१४ बैशाख २०८१, शुक्रबार

‘जारी’को बम्पर ओपनिङ पक्का

jaari

भोली शुक्रबारबाट रिलिजमा आउन लागेका ३ फिल्ममध्ये ‘जारी’को बुकिङ आक्रामक देखिएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङले निर्माण गरेको यो फिल्मलाई मल्टिप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् ।

मंगलबार बुकिङ खुलेसँगै फिल्मको टिकट काट्नेहरुको ठूलो संख्या देखिएको छ । विशेषगरि, पूर्वी नेपालमा फिल्मको बुकिङ अझै आक्रामक छ । विर्तामोडको क्यूएफएक्सले फिल्मलाई १० शोज दिएको छ । यी सबै शोजहरुमा टिकट लगभग सोल्ड आउट नै छ ।

यो फिल्मको बुकिङ काठमाडौं र मोफसलमा उस्तै छ । फिल्मलाई क्यूएफएक्सले देशभर ७१ शोज उपलब्ध गराएको छ । फिल्मको अधिकांश हलमा आक्रामक रुपमा टिकट विक्री भैरहेको छ । नयाँ बर्षको बिदाको दिन पनि भएकाले फिल्मले १ करोड भन्दा माथिको ओपनिङ गर्ने प्रक्षेपण गर्न सकिन्छ ।

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका थिए । यसपछि नै यसको हाइप बढेको हो । यस्तै, फिल्म क्षेत्रमा पत्याइएका मेकरका कारण पनि दर्शकले फिल्ममाथि बढी भरोसा गरेका छन् । फिल्मको बुकिङ बीग मुभिज, वान सिनेमाज् लगायतका हलमा पनि सुखद देखिएको छ ।

यो बर्ष सर्वाधिक धेरै हिट फिल्म दिएर नम्बर १ स्थानमा रहेका नायक दयाहाङ राइले आउँदो बर्षको सुरुवातमै सफलताको नयाँ रेकर्ड कायम गर्ने देखिएको छ ।

    सम्बन्धित समाचार...