३ जेष्ठ २०८१, बिहीबार

फोहोरमा राजनीति गर्नु हुँदैन, निकास खोज्नुपर्छ : मन्त्री गुरूङ

Sita Gurung

सहरी विकासमन्त्री सीता गुरूङले फोहोर देखाएर राजनीति गर्नु नहुने बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरूङले काठमाडौँको फोहोर व्यवस्थापनका लागि मन्त्रालयको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् ।

उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याइँ नगर्ने बताइन् । उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागेको बताइन् ।

समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरूङले बताइन् ।

“हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याइँ हुँदैन । विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति सहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणका लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो । हिजोमात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौँ । हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडि बढ्ने भनेका छौँ । फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ । त्यो कुरामा हामी लागिपरेका छौँ,” उनले भनिन् ।

    सम्बन्धित समाचार...