३ जेष्ठ २०८१, बिहीबार

सांसदको दुई करोड डिल: मन्त्री बन्न रवि लामिछानेलाई बुझाउनुपर्छ भन्दै २ करोड मागेपछि…

pa

राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले मन्त्री बन्न पार्टीलाई साढे दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यापारीसँग पैसाको डिल गरेको अडियो बाहिरिएको छ ।

भ्रष्टाचारको नारा लगाएर राजनीतिमा उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका पार्टी सभापतिलाई बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको हो । श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईलाई फोन गरेर पैसा मागेको अडियो बाहिरिएसँगै श्रेष्ठ सांसद र पार्टीबाट निलम्बनमा परेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेलार्इ बुझाउनुपर्ने भन्दै २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको हो । श्रेष्ठ समानुपातिकतर्फका सांसद हुन् । स्वतन्त्र पार्टीले घटनाबारे छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । छानबिन पूरा नभएसम्मका लागि सांसद तथा साधारण सदस्यका हैसियतले कुनै पनि काम कारबाही नगर्न नगराउन पार्टीले श्रेष्ठलाई निर्देशन दिएको छ ।

यसरी मन्त्री बन्न दुई करोड चाहियो भन्दै डिल गर्ने व्यक्ति हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद ढाकाकुमार श्रेष्ठ। पोखराका सांसद श्रेष्ठलाई यसअधि सहकारी ठगीको आरोप पनि लागेको थियो। र, ढाकाले डिल गरेका व्यक्ति हुन्, व्यवसायी दुर्गा प्रसाईं।

संवाद पुस २ गतेको हो। जतिबेला नयाँ सरकार गठनको गृहकार्य भइरहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान खुट्टा उचिलिरहेको थियो। सार्वजनिक भएको अडियोमा प्रसाईंले सोध्छन्, पैसा रविलाई नै बुझाउनु पर्ने हो ? ढाका भन्छन्- रवि सर सिनमा आउनु भएको छैन। तर, उहाँकै कोर टिमलाई बुझाउनु पर्छ। संवादमा ढाकाले रास्वपाले आफूलाई स्वास्थ्यमन्त्री बनाउने निश्चित भएको तर, त्यसका लागि साढे दुई करोडसम्म पैसा मागेको प्रसाईंलाई सुनाउँछन्। र, त्यो पैसा प्रसाईंले व्यवस्थापन गरिदिनु पर्ने आग्रह छ, सांसद ढाकाकुमारको।

श्रेष्ठले मन्त्री बन्नका लागि आफूलगायतका विश्वासपात्र मार्फत् सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग पैसा मागेको अडियो आजै सार्वजनिक भएको हो । अडियोमा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भागमा परेको उल्लेख गर्दै प्रसाईंलाई २ करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भए पनि मन्त्री बनाउन सभापति रवि लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् । प्रसाईंले २ करोड रुपैयाँ व्यवस्थापन गरिदिने, तर पछि आफ्नो काम गरिदिनुपर्ने र मिलेर काम गर्ने सर्त राखेको अडियोमा सुनिएको छ ।

अडियो प्रकरणका सम्वन्धमा कुरा गर्न सांसद श्रेष्ठ साँझ पाँच बजेसम्म तयार भए पनि पछि सम्पर्कमा आएनन् । सांसद श्रेष्ठले सभापति लामिछानेका नजिकका व्यक्तिलार्इ संकलित रकम बुझाउनुपर्ने अडियोमा बोलेका छन् ।

सहकारी ठगी गर्नेलाई सांसद पदको पुरस्कार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पोखराको सहकारीसम्बन्धी अनियमितता विवादमा पनि मुछिएका छन् । सहकारी ठगीको आरोप लागिरहेकै बेला सभापति लामिछाने उनलाई समानुपातिक सांसद बनाएका हुन् ।

श्रेष्ठ गत कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान कृषि सहकारी संस्थामा अध्यक्ष थिए । उनले अध्यक्ष रहँदा झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको तथा अध्यक्षबाट हटे पनि नयाँ कार्यसमितिलाई हिसाबकिताब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको छ ।

सहकारीको कार्यालयमा ६ महिनादेखि ताला लागेको छ । उठ्नुपर्ने रकमको स्रोत नै नखुल्दा बचतकर्ता लाई रकम फिर्ता गर्नसमेत संस्थासँग रकम नभएको सहकारीले जनाएको छ ।

नयाँ सञ्चालक समितिले सहकारीलाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि कारोबार शुरु गर्न सकेको छैन । सहकारीले विशेष गरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आइरहेको थियो । तर, कुखुरा खरिद बिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको हालको कार्यसमितिले जनाएको छ ।