१५ बैशाख २०८१, शनिबार

भियतनामसँग नेपालको दोस्रो हार

vietnam vsNepal

नेपालले पेरिस ओलम्पिक छनोटको पहिलो चरणमा भियतनामसँग समग्रमा ७-१ गोलको पराजय ब्यहोरेको छ । घरेलु टोलीले, आज भएको दोस्रो लेग २-० ले गुमायो । पहिलो लेगमा भियतनामले ५-१ को अग्रता बनाएको थियो । दुवै खेलमा जीत हात पारेको भियतनाम छनोटको दोस्रो चरण प्रवेश गर्यो ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा नेपाली गोलरक्षक र डिफेन्डरबीचको गल्तीको फाइदा उठाउँदै भियतनामले ८ मिनेट भित्रै दुई गोल गरेको थियो । छैटौं मिनेटमा पाहुना टोलीले पहिलो गोल गर्यो । थि माइ अङको कर्नरमा हाइ फाम एनले भियतनामलाई अग्रता दिलाएकी हुन् । डिफेन्डर र गोलरक्षक एन्जिला तुम्पाप्पो सुब्बाबीच तालमेल नमिल्दा नेपालले पहिलो गोल ब्यहोरेको थियो । लगत्तै अर्को मिनेटमा नेपाली रक्षापङ्ती कै गल्तीको फाइदा उठाउँदै भियतनामले दोस्रो गोल थप्यो । ट्रान थि थु-थाओको पासलाई फामले सहज प्रहार गरे पनि गोल भयो । २३ औं मिनेटमा नेपालले काउन्टरमा पहिलो अवसर सिर्जना गरेको थियो । विमला चौधरीको लामो पास नियन्त्रणमा लिँदै साबित्रा भण्डारीले गरेको सो प्रहार गोलरक्षक खोंग थि हांगले बचाएकी थिइन् ।

३९ औं मिनेटमा सावित्राले गोलको सुवर्ण अवसर खेर फालिन् । सरु लिम्बुले दिएको पासमा डिफेन्स लाइनलाई छक्काएकी साबित्राको प्रहार फितलो बन्दा गोलरक्षक खोंगले सहजै नियन्णमा लिएकी थिइन् । दोस्रो हाफमा कप्तान तथा गोलरक्षक एन्जिलाको स्थानमा अन्जना रानामगर मैदान प्रवेश गरिन् । अम्रिता जैसीले कप्तानको आर्म ब्यान्ड लगाइन् । सुधारिएको प्रदर्शन गरेको नेपालले काउन्टरमा बनाएका केही अवसरको सदुपयोग गर्न सकेन् । ६६ औं मिनेटमा दीपा शाहीले गरेको प्रहार पोस्टमा लाग्दै फर्किएपछि नेपाल अभागि सावित भयो ।

पराजयसँगै नेपाल छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । सन् २०१८ मा पहिलो पटक नेपालले टोकियो ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो ।

    सम्बन्धित समाचार...