२२ बैशाख २०८१, शनिबार

संसद बैठक अपरान्ह १ बजे बस्दै, यी हुन् सम्भावित कार्यसूची

nepal parliament building

प्रतिनिधिसभाको आज बस्ने बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफलपछि पारित गर्ने कार्यसूची छ ।

संघीय संसदको महासचिव भरतराज गौतमकाअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले समितिको प्रतिवेदन माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।

यस्तै उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र पुनः समिति सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

साविकको प्रतिनिधिसभा नियमावलीमा आवश्यक संशोधनका लागि केसीको नेतृत्वमा समिति गठन गरिएको थियो । नयाँ नियमावलीमा फौजदारी अभियोग लागेको सांसदको निलम्बन, महाअभियोग प्रस्तावको निरन्तरता र संसदीय समितिमा स्वार्थ बाझिने प्रतिनिधित्वलाई निरुत्साहित गराउने लगायतका नयाँ प्रावधान समेटिनुपर्ने समितिको निष्कर्ष छ ।

प्रतिनिधिसभाको नयाँ निर्वाचन भएसँगै नियमावली परिमार्जन गर्ने प्रचलन रही आएको छ । ४ मंसिरको चुनावपछि गठित प्रतिनिधिसभाका अहिलेसम्मका बैठकहरु भने साविककै नियमावलीबाट सञ्चालन हुँदै आएका छन् । गत फागुन १० गते समिति सभापति केसीले उक्त प्रतिवेदन प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए ।

संसद सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन आव २०७८÷०७९ पेस गर्ने छन् ।

    सम्बन्धित समाचार...