२० बैशाख २०८१, बिहीबार

कांग्रेसले तोक्यो ८ मन्त्री, कसले के पाए ? (सूचीसहित)

Congress

सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले आफ्नो भागमा परेको ८ मन्त्री टुंग्याएको छ ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि बिहीबार साँझ आफ्ना मन्त्री टुंगो लगाउनु भएको हो । देउवाले कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतलाई अर्थमन्त्रीका रुपमा पठाउने तयारी गर्नुभएको छ ।

उपसभापति धनराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु हुने भएको छ । केन्द्रीय सदस्य एनपी साउदलाई शहरी विकास मन्त्री बनाइने भएको छ । अर्का केन्द्रीय सदस्य मोहन बस्नेतलाईे स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने भएको छ।

सांसद डिगबहादुर लिम्बुले कानुन मन्त्री अवसर पाउनु भएको छ । तेह्रथुमबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सीता गुरुङलाई भूमि व्यवस्था मन्त्री बनाइँदैछ । कांग्रेसको भागमा परेको रक्षा र परराष्ट्र मन्त्रालयमा भने कुरा मिल्न बाँकी छ । उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश रिजाल मध्ये यी दुई मन्त्रालय कसलाई कुन दिने भन्ने एकीन भइसकेको छैन ।

खड्काले उपप्रधमन्त्रीसहित कांग्रेसबाट सरकारको नेतृत्व गर्नुहुनेछ । तर खड्का र रिजालले परराष्ट्र र रक्षा कुन सम्हाल्ने भन्ने टुंगो लाग्न बाँकी भएको छ। देउवाले रिजाललाई परराष्ट्र मन्त्री बनाउने तयारी गर्नुभएको छ। तर त्यसबारे खड्कासँगको छलफलपछि मात्रै टुंगो लाग्ने भएको छ ।

नेकपा माओवादी केन्द्रबाट हाल भौतिक मन्त्रालय सम्हालिरहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय सम्हाल्नु हुनेछ । रवि लामिछानेले माघ १३ गते सांसद र मन्त्री दुवै पद गुमाएयता यो मन्त्रालय खाली छ। अहिले प्रधानमन्त्री प्रचण्डले गृह र रक्षासहित १६ वटा मन्त्रालय आफैंले समाल्नु भएको छ ।

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समाल्नु भएका अमनलाल मोदीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । अरु साना दलको भागमा परेको मन्त्रालय भने कसले के पाउने ? भन्नेबारे टुंगो लाग्न बाँकी छ ।