२० बैशाख २०८१, बिहीबार

अर्थशास्त्री स्वर्णिम वाग्लेको कांग्रेसबाट ‘घण्टी’मा हाइजम्प !

wagle

नेपाली कांग्रेसका अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन् । वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन् । वाग्ले निकट स्रोतका अनुसार उनले रास्वपाको डिजिटल फर्म भरेर सदस्यता लिएका हुन् ।

रास्वपाले वाग्लेलाई आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ को उम्मेदवार बनाउने तयारी गरेको छ ।

कांग्रेस परित्याग गरेका वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको उल्लेख गरेका छन् ।

‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं,’ उनको भनाई छ ।

‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ वाग्लेले भनेका छन् ।

वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने चर्चा छ। यसबारे वाग्लेले केही खुलाएका छैनन्।

आफ्नो ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टी छोडेको वाग्लेले लेखेका छन् । ‘२०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ उनले लेखेका छन्,’ पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें । विशेषत : योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ ।

    सम्बन्धित समाचार...