२१ बैशाख २०८१, शुक्रबार

सरकारले मिटरब्याज कारोबारलाई नियन्त्रण गरोस् : अध्यक्ष ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक साक्षात्कारमा उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने जनाए । मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको जनाउँदै अध्यक्ष ओलीले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए । आमनागरिक बेलैमा सचेत भई मिटरब्याज कारोबारमा फस्नु नहुने उनको भनाइ छ ।

‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौं । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ, दोस्रो अफ्ठ्यारो पर्‍यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाईकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनु हुँदैन,’ उनले भने, ‘मिटरब्याजको पीडित जो भएको छ, उनीहरुले पनि सोच्नुपर्छ । मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्ने भयो । सहमति त त्यही हुन्छ । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । यो गलत कुरा हो, कानुनविपरीत छ भन्नेकुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ ।’

अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको धारणा राखे । उनले अबदेखि वार्षिक क्यालेन्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेन्डरबाट हटाउने प्रतिबद्धता जनाए ।