१६ बैशाख २०८१, आईतवार

इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्न सफल

englnd

इंग्ल्यान्डले युक्रेनलाई पराजित गर्दै युएफा युरो छनोटमा जितको सिलसिलालाई निरन्तरता दिएको छ । गएराति इंग्ल्यान्ड २–० ले विजयी भएको हो ।

घरेलु मैदान वेम्ब्लीमा ह्यारी केनको महत्वपूर्ण भूमिकामा इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्न सफल भएको हो । बुकायो साकाको गोलमा खेलको ३७ औँ मिनेटमा केनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तीन दिन अघि छनोटको पहिलो खेलमा साविक विजेता इटालीलाई २ – १ गोलले पराजित गर्दा पनि केनले नै गोल गरेका थिए । उक्त गोलपछि स्ट्राइकर केन इङल्यान्डका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । वेम्ब्लीमा बुकायो साका दोस्रो गोलकर्ता बने । जोर्डन हेन्डरसनको पास सदुपयोग गर्दै साकाले ४० औँ मिनेटमा गोल गरेका हुन् ।

युक्रेनले भने इंग्ल्यान्डको पोस्टमा ९० मिनेटभर कुनै मौका बनाउन सकेन । लगातार दोस्रो जितसँगै समूह (सी) मा इंग्ल्यान्ड शीर्ष स्थानमा छ ।

युक्रेनले छनोटको पहिलो खेल खेलेको हो । खेलका क्रममा खेलाडीहरुले युद्धग्रस्त युक्रेनमा शान्तिको कामना गरे । यही समूहको अर्को खेलमा इटालीले माल्टालाई २–० ले हराउँदै पहिलो जित दर्ता गर्‍यो । इटालीलाई जिताउन मातोओ रतेगी र मातेओ पेसिनाले १ – १ गोल गरे ।

पहिलो खेलमा इटाली इंग्ल्यान्डसँग हारेको थियो । यस्तै अन्य खेलमा फिनल्याण्डले नर्दन आयरल्याण्डलाई १ – ० ले हराउँदा, स्लोभानियाले सान मारिनोलाई २ – ० ले पराजित गर्‍यो । पहिलो हाफमा लिएको २ गोलको अग्रता जोगाउन नसक्दा डेनमार्क भने काजकिस्तानसँग ३–२ ले पराजित भयो ।

    सम्बन्धित समाचार...