१४ बैशाख २०८१, शुक्रबार

फुटबलर श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

sujal

फुटबलर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । सामाजिक सन्जालमा एक स्टाटस लेख्दै उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

आफ्ना शुभचिन्तक, समर्थकलाई सम्बोधन गर्दै फुटबलर सुजलले लेखेका छन्, ‘११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुसीका पल त केही दु:खका, कतै उपाधि त कतै निराश क्षणलगायत यी सबै तीता-मीठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो संन्यास घोषणा गर्दछु ।’

सुजलले टिममा युवा खेलाडीको आमगनसँगै आफ्नो बिदाइको उपयुक्त समय भएको जनाएका छन् । ‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु,’ सुजलले फेसबुकमा लेखेका छन्, ‘मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो मेरो लागि उपयुक्त समय हो ।’

सुजलकै कप्तानीमा मच्छिन्द्र फुटबल क्लब लगातार दुईपटक सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको थियो । त्यसअघि उनले मनाङ मस्याङ्दी क्लबबाट पनि लगातार दुईपटक सहिद स्मारक ए डिभिजन लिग जितेका थिए ।

२०७३ सालमा मलेसियामा राष्ट्रिय टोली एएफसी सोलिडारिटी कप च्याम्पियन बन्दा मकाउविरुद्धको फाइनलमा सुजलनै गोल गरेका थिए । तीन वर्षअघि स्वदेशमा भएको १३औं सागमा उनकै कप्तानीमा नेपालले स्वर्ण पदक रक्षा गरेको थियो । घरेलु फुटबलका सफल खेलाडीमध्ये एक सुजल ए डिभिजन लिगमा लगातार चारपटक च्याम्पियन बन्ने तीन खेलाडीमध्ये एक हुन् । एन्फा एकेडेमीका उत्पादन सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए ।

धनकुटामा जन्मिएका सुजलले सानैदेखि फुटबल खेल्न परिवारको साथ पाएका थिए । उनले धनकुटाबाटै यू-१२ र यू-१४ को उमेर समूहका प्रतियोगिता खेलेर २०६० सालमा एन्फा एकेडेमीमा छनोट भएका थिए ।

    सम्बन्धित समाचार...