११ बैशाख २०८१, मंगलवार

सत्ता गठबन्धनका १० दललाई मन्त्रालयको बाँडफाँट मिलाउन दाहाललाई सकस

prachanda pm
फाइल फोटो

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकेर संसदबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहालले अझै सरकार विस्तार गर्न सकेका छैनन् ।

चैत ६ गते दोस्रो पटक संसदमा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको संयुक्त बैठकसमेत राख्न सकेका छैनन् । दाहालले बुधबार र बिहीबार गठबन्धनका केही नेतासँग छुट्टाछुट्टै छलफल गरेका छन् । आज पनि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुसँग बालुवाटारमा छलफल गरे । सत्ता गठबन्धनका १० दललाई मन्त्रालयको बाँडफाँट मिलाउन दाहाललाई सकस परेको छ ।

सत्ता गठबन्धनको ठूलो दल कांग्रेसका नेताहरु संसदमा रहेको सिट संख्यालाई आधार मानेर मन्त्रालय बाँडफाँट गर्नु पर्ने पक्षमा छन् । तर सहमतिका लागि लचक रहेको कांग्रेस नेताहरुको तर्क छ ।

ठूलो दलको हैसियतले आफूहरुलाई सम्मानपूर्वक सरकारमा समावेश गर्न प्रधानमन्त्री र गठबन्धका नेताहरु सचेत रहेको नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकको दाबी छ । उनी भन्छन्, ‘कांग्रेसको संख्या ठूलो छ । कांग्रेसलाई सम्मानपूर्वक सरकारमा समावेश गनुपर्छ भन्ने कुरा अरु दलले पनि बुझेका छन् । प्रधानमन्त्रीले पनि बुझ्नु भएको छ । जे जस्तो भए पनि सरकारमा कांग्रेसको सम्मानजनक उपस्थिति हुन्छ ।’

यद्यपि गठबन्धनका सबै दल सकारात्मक रहेकाले अबको एक साताभित्र प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिइसक्ने कुरामा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल ढुक्क छन् । उनी भन्छन्, ‘प्रधानमन्त्रीलाई सबै दललले निकै सकरात्मक हिसाबले क्याबिनेट विस्तारको एउटा मोडालिटी बनाउनुस्, प्रस्ताव गर्नुस् र एक–दुई दिनमा बसौं भनेर हिजो मात्रै कुरा गरेका छन् । यो हप्ता सकिन दुई दिन बाँकी छ । अब आउने हप्ता मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै गठबन्धनका मुख्य दलले सरकारको साझा कार्यक्रमका विषयमा पनि छलफल थालेका छन् । आजै कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु साझा कार्यक्रमबारे छलफल गरेका हुन् ।