१३ बैशाख २०८१, बिहीबार

धुर्मुसको प्रश्न: यो सपना मेरो अपराध हो ?

dhurmus

धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको काम अघि बढ्न नसक्दा आफूले डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत कट्टेलले रंगशालाको काम अघि नबढ्दा आफूले मानसिक यातना भोगिरहेको बताएका हुन् ।

उनले एउटा रंगशाला बनाउनु के अपराध थियो त भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘ काम अघि नबढ्दा म दुई वर्षदेखि मानसिक यातना भोगिरहेको छु । डिप्रेसिभ छु । आज क्रिकेटले जुन सफलता हासिल गरेको छु । जुन उचाइमा पुगेको छ । एक चोटी महसुस गरौं । एउटा रंगशाला आवश्यक रहेछ की रहेनछ ? एउटा स्तरीय रंगशाला नहुँदा नहुँदै नेपाली खेलाडीले शीर उचो बनाएका छन् । ती खेलाडीलाई खेल्ने एउटा रंगशाला बनाउनु के अपराध थियो । के हामीले पाप गरेका थियौं ?’

उनले रंगशाला निर्माणमा आफूले कुनै गल्ती नगरेको र भेटिए जुनसुकै सजाय खेप्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’ उनले आफूहरु रंगशाला छोडेर कतै भागेको नभइ रंगशाला कुरेर बसिरहेको बताए ।

धुर्मुसले रंगशालाको हिसाबलाई स्पस्ट पार्दै भने, ‘रंगशाला निर्माणमा ५७ करोड ९२ लाख खर्च भएको छ । जसमा १८ करोड ४३ लाख तिर्नुपर्ने(ऋृण) रकम छ । ३९ करोड ८० लाख मात्र नगद तथा जिन्सी सङ्कलन गरिएको थियो ।’ उनले आश्वासनको बलमा १८ करोडसम्मको ऋृण उठाएको बताए । तत्कालिन बागमती प्रदेश सरकारले समेत ३० करोड रुपैयाँ सहयोग गर्छु भन्दा पनि जम्मा ३ करोड रुपैयाँ मात्र दिएको उनले बताए । ’भरतपुर महानगरपालिकाले ८ करोड रुपैयाँ सहयोग गरेको र अन्य स्थानिय निकायसहित गरेर १२ करोड रुपैयाँ संकलन भयो’, उनले भने ।

    सम्बन्धित समाचार...