१४ बैशाख २०८१, शुक्रबार

अहिलेको सरकारमा ११ वटै दललाई समेट्न नसके आलोपालो गर्छौंः सचिव पौडेल

devendra paudel
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले ११ दललाई विश्वासमा लिएर यसै साता मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

‘हिजो हामीले विश्वासको मत लियौं । अब साना-ठूला ११ दललाई विश्वासमा लिएर मन्त्रीमण्डल विस्तारको होमवर्क गर्छौं । हामी २५ वटाभन्दा बढीको मन्त्रीमण्डल बनाउन सक्दैनौं । यो टुंग्याउनै नसकिने कुरा होइन । यो हप्ताभित्र मन्त्रीमण्डल विस्तार हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै पौडेलले भने ।

११ दल नै सरकारमा जाने स्थितिमा आलोपालो मन्त्रीमण्डलमा समेटिने पनि उनले बताए । पौडेलले भने, ‘सरकारमा जाने भनेको बाँडचुँड गरेर खाने होइन, मुलुक र जनताको काम गर्ने हो । हामी सबैले एकअर्काको समस्या बुझेपछि हल हुन्छ । आलोपालो गरेर भए पनि सबैलाई समेट्छौं । कोही खुसी भएनन् भने पनि चित्त बुझाउने गरी काम हुन्छ ।’

नेता पौडेलले रास्वपा पनि सरकारमा आउने र एमाले र राप्रपालाई पनि विश्वासमा लिएर प्रधानमन्त्री अघि बढ्ने बताए । उनले भने, ‘प्रचण्डले सरकारलाई समर्थन गर्ने दलहरुको मात्र होइन एमाले र राप्रपाको पनि सहमति लिएर काम गर्नुहुन्छ । अब रास्वपा पनि सरकारमा आउँदा राम्रो हुन्छ । उहाँहरुमा केही गरौं भन्ने भावना छ ।’

नेकपा (माओवादी केन्द्र) ले गृह वा अर्थमध्ये एउटा मन्त्रालय लिने र माधव नेपालको पार्टीले पनि गम्भीरता बुझ्ने उनले बताए । पौडेलले भने, ‘प्रधानमन्त्रीले गृह वा अर्थमध्ये एउटा राख्दा राम्रो होला । पुरानो गठबन्धनको अभ्यास पनि त्यही हो । गठबन्धनमा माधव नेपालको भूमिका छ । उहाँ समझदार व्यक्ति भएकाले अहिलेको जटिलता बुझ्नुहुन्छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले गोटी बनाएर चलाउन खोजेकाले सहकार्य भत्किएको पनि पौडेलले औंल्याए । उनले भने, ‘एमालेसँगको गठबन्धन किन तोडियो भनेर प्रचण्डले जनतालाई बताइसक्नुभएको छ । उहाँ साझा मुद्दामा एमालेलाई पनि सँगै लिएर जान चाहनहुन्छ ।

प्रधानमन्त्रीले एमालेलाई सरकारबाट हट्नुस्, सहमति नगरौं भन्नुभएको होइन । सबै पद पाए बस्ने, नपाए नबस्ने भन्ने हुँदैन ।’ साथै उनले रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा प्रचलित कानुन अनुसार महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको पनि दाबी गरे ।

    सम्बन्धित समाचार...