१४ बैशाख २०८१, शुक्रबार

सभामुख घिमिरेको आपत्तिजनक अभिव्यक्ति किन आयो ?

Sabhamukha Debraj ghimire

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकार महासंघको डेलीगेशन टोलीसँगको भेटमा आपत्तिजनक अभिव्यक्ति दिए ।

केही सञ्चार माध्यमसँगको असन्तुष्टि पोख्न समग्र पत्रकार जगतलाई नै ठेस पुग्नेगरी अभिव्यक्ति दिएका घिमिरेको भनाइले विश्वव्यापी रुपमा स्वीकार गरिएको राज्यको चौथो अंग र अभिव्यक्ति स्वतन्त्रताको अभियानलाई नै चोट पुर्‍याएको छ ।

नागरिकता प्रकरणका कारण मन्त्रीसहित सांसद पद गुमाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो असाबधानी र लापरबाहीको ढाकछोप गर्न सम्पूर्ण दोष सञ्चार क्षेत्रलाई दिएका थिए।

केही समयदेखि एकजना मेडिकल व्यापारी, एमाले अध्यक्ष केपी शर्मा ओलीको शब्दमा ‘बैंकका डिफल्टर’ दुर्गा प्रसाईले मिडियाविरुद्ध तथानाम बोलिरहेका छन् ।

यो बीचमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले राजतन्त्रको वकालत गर्दै केही सञ्चारमाध्यममा दिएका अन्तर्वार्तामा पत्रकारहरुमाथि गम्भीर आरोप लगाए–लगाइरहेका छन् ।

यतिबेला प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारविरुद्धको द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट आफ्ना राजनीतिक कुण्ठाहरु बिसाए । त्यसको साक्षी थियो पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ ।

६२र६३ को जनआन्दोलनपछि खासै सिनमा नदेखिएका देवराज घिमिरे गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सांसद पदमा निर्वाचित भएपछि अचानक सभामुख बन्ने अवसर प्राप्त गरेका हुन् । महाकाली सन्धी गराउन एमालेबाट निर्णायक मत दिएपछि झण्डै साढे दुई दशक गुमनाम भएर मुलधारमा फर्किँदा झण्डै तीन दशक उमेर पार गरेको नयाँ पुस्ताका लागि घिमिरे नयाँ रहेका थिए ।

उनी अचानक व्यवस्थापिका जस्तो राज्यको प्रमुख अंगको मुखिया कसरी बने भनेर नयाँ पुस्ताले जान्दैनथ्यो । घिमिरे पत्रकारहरुमाथि आक्रोशित बन्ने सम्मभवत एउटा कारण हुन सक्छ, मिडियाले उनलाई एमाले अध्यक्ष केपी ओली निकट पात्रका रुपमा परिचित गराइदिनु ।

संसारभर मिडियालाई राज्यको चौथो अंगका रुपमा स्वीकारिन्छ । घोषित तीन अंगबीच शक्ति सन्तुलन र नियन्त्रणको घेरा तोडिने अवस्थामा अथवा यी तीन अंगबीच अधिक निकटता वा अधिक द्वन्द्वको स्थिति बन्दा नियन्त्रण गर्न सक्ने सामथ्र्य राख्ने घोषित र सर्वस्वीकार्य शक्तिका रुमपा मिडियालाई चौथो अंगका रुपमा स्वीकार गरिएको हो ।

यो चौथो अंग आफैले राज्य संचालन गर्ने कदापि होइन, तर नागरिकको आवाज मुखरित गर्ने वा संगठित नागरिक समाजको प्रतिनिधित्व गर्ने काम यसै अंगले गरिरहेको तथ्य घामजत्तिकै छर्लंग छ ।

रवि लामिछाने, ज्ञानबहादुर शाही वा दुर्गा प्रसाईँले जस्तै सञ्चारमाध्यम वा त्यहाँ कार्यरत पत्रकारलाई निचो देखाउँदा आफ्नो लोकप्रियता उँचो बन्ने भ्रमले सभामुख घिमिरेलाई पनि डोहोर्याएको मात्रै हो भने एउटा कुरा, नत्र लोकतान्त्रिक व्यवस्थाको सच्चा पहरेदार बनिरहेको प्रेस जगतलाई कमजोर नै पार्ने प्रयत्नमा यस्तो अभिव्यक्ति मुखरित भएको हो भने यसले विधिको शासनलाई कमजोर बनाउने निश्चित छ । यस्तोमा किन महासंघ मुकदर्शक बनिरह्यो त ?

यो व्यवस्थाका लागि स्वयम् पनि लडेका र हरेक दोबाटोमा उभिएर मार्गदर्शक बनिरहेका आमसञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सुरु गरेको घृणाको राजनीति र मारमुङ्ग्रीले क्षणिक रमिता त अवश्य नै हुनेछ । तर मिडिया कमजोर बन्दा व्यवस्था कमजोर बन्ने कुरा नजरअन्दाज गर्न खोज्नु अपरिपक्वता मात्र भन्न सकिएला ।

    सम्बन्धित समाचार...