६ बैशाख २०८१, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक बस्दै

Nepali Congress Meeting
फाइल फोटो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मत र सरकार विस्तारबारे छलफल गर्न कांग्रेसले दुई समितिको बैठक बोलाएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्नेछ । समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको उनको भनाइ छ ।

यसबारे छलफल गर्न आजै मध्याह्न १२ बजे संसदीय दल कार्यसमितिको बैठक पनि बस्दैछ । संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जानकारी दिइएको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । यसअघि प्रमुख प्रतिपक्षको बेन्चमा बसेको कांग्रेस सत्ता पक्षको बेन्चमा सर्ने भएको छ । एमाले भने प्रतिपक्षीको बेन्चमा सर्ने तयारी छ ।

गत पुस १० गते एमाले माओवादी गठबन्धनमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेपछि समर्थन फिर्ता लिँदै फागुन १५ गते एमाले सरकारबाट बाहिरिएको थियो । दुई महिनामै माओवादी एमाले गठबन्धन भत्किएपछि प्रधानमन्त्री दाहालले सोमबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । एमालेसँगै राप्रपा र रास्वपासमेत सरकारबाट बाहिरिएपछि अहिले प्रधानमन्त्री दाहाल एक्लैको काँधमा १६ वटा मन्त्रालय छ । तर, संसदबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने दाहालको मनस्थितिका कारण अधिकांश मन्त्रालय मन्त्रीविहीन छन् ।

नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत दश दलको समर्थनमा बनेको नयाँ समीकरणमा सत्ताको भागबन्डा मिलाउन भने दाहाललाई अफ्ठ्यरो हुने देखिएको छ ।