२० बैशाख २०८१, बिहीबार

घर डढाएर माधव नेपालले विपक्षीको पाउमा खरानी चढाए : अध्यक्ष ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थीको दलाली गरेको आरोप लगाएका छन् ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाल र दाहाल वामपन्थी राष्ट्रपतिकोविरुद्धमा उभिएको आरोप लगाए ।

उनले भने, ‘माधव नेपालले भर्खरै भाषण गरे । प्रचण्डजीले राष्ट्रपति मलाई हुनु भनेर प्रस्ताव गर्नुभएको थियो, मैले मानिनँ कांग्रेसलाई नै बनाउनुपर्छ भनेर मैले प्रस्ताव गरेँ भनेर उहाँ आफैँले भन्नुभएको छ । वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाको छोडेर ठाउँ–ठाउँमा रोएको त तपाईंहरुले देख्नै भएको छ । वामपन्थी राष्ट्रपति हुनै दिनु हुँदैन । देश खत्तम हुन्छ । माधव नेपालले भनेको सुन्नुभयो होला, एमालेको राष्ट्रपति भयो भने त देश ध्वस्त हुन्छ ।’

माधव नेपालले पार्टी फुटाएको विषयलाई अध्यक्ष ओलीले आफ्नो घरमा आगो लगाएर विपक्षी शक्तिको पाउमा खरानी चढाएको टिप्पणी गरे । उनले अगाडि भने, ‘यो नांगो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली हो । भइरहेको वामपन्थी शक्ति आफ्नो पार्टी फुटाएर, ध्वस्त बनाएर, घरमा आगो लगाएर अनि त्यो खरानी पनि लगेर विरोधी, विपक्षीका पाउमा मैले घर डढाएर यति खरानी हजुरको पाउँमा चढाउन ल्याएको छु भनेर पाउमा चढाउन जाने जस्तो घिनलाग्दो कुरो अरु के हुन्छ ? त्यही गरे ।’

साथै ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाए । राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उनको भनाइ छ ।