३० बैशाख २०८१, आईतवार

दुर्गा प्रसाईंले जब, ‘राजतन्त्र-जिन्दावाद नभन्नू !’ भने

durga parsai

राजतन्त्र पुनःस्थापना अभियानमा लागेका व्यवसायी दुर्गा प्रसाईंले ‘राजतन्त्र-जिन्दावाद’ नभन्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंको बानेश्वरमा पसाईंले आयोजना गरेको राजतन्त्र पुनःस्थापना आन्दोलनको शुभारम्भ कार्यक्रममा उपस्थित समर्थकले ‘राजा आउ देश बचाउ’, ‘राजतन्त्र जिन्दावाद’लगायतका नारा लगाएका थिए । सो कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि उनले नारा नलगाउन आग्रह गरेका हुन् ।

उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राखे । प्रसाईले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक बताए ।

पसाईंले भने, ‘म तपाईहरुलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो । भिडनु पर्‍यो । हामीलाई साथ दिनु पर्‍यो । हामी राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्नँ ।’’

उनले आफू राजा देखाएर रोटी साट्ने मान्छे नभएको बताउँदै आफूमा राजा देखाएर सांसद बन्ने लोभ नभएकोसमेत बताए ।

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईँले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम शुरु गरेका छन् ।

आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सिर्जना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उनको भनाइ रहेको छ ।

    सम्बन्धित समाचार...