३१ बैशाख २०८१, सोमबार

पुरानो गठबन्धन ब्युँतिएसँगै अधिकारी नेतृत्वको प्रदेश सरकार पनि धरापमा

khagraj adhikari cm
फाइल फोटो

केन्द्रमा पुरानो गठबन्धन ब्युँतिएसँगै खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार पनि धरापमा छ ।

आठ दलीय गठबन्धन ब्युँतिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठनका लागि कांग्रेसले छलफल सुरु गरेको छ । प्रदेश सरकारका मन्त्रीहरु नै कांग्रेस नेतृत्वको गठबन्धनको कार्यक्रममा सहभागी हुन थालेपछि खगराज अधिकारी नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

शुक्रबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद एउटै कार्यक्रममा देखिए । मंसिर ४ को निर्वाचनमा सँगै होमिएका तर परिणाम पछि टाढिएका दलका नेता राष्ट्रपति निर्वाचनको सन्र्दभमा सांसदलाई अभिमुखिकरण गरिरहेका थिए ।

उक्त कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको सरकारमा माओवादीबाट मन्त्री बनेका दुई जना पनि सहभागी थिए । यसले गण्डकीमा कांग्रेस नेतृत्वको गठबन्धनले औपचारीकता पाएको पुष्टि गरेको छ । मुख्यमन्त्री हुन लम्कीदै गर्दा एकाएक राजनीतिक कोर्ष परिवर्तन भए पछि प्रतिपक्ष दलको नेतामा खुम्चिन पुगेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेमा विश्वस्त देखिनुहुन्छ ।

राष्ट्रपति निर्वाचनमा केन्द्रित भएका दलले प्रदेश सरकारको भागवण्डा भने टुंगो लगाएका छैनन् । आन्तिरक छलफलमा जुटेका प्रदेशका नेता पार्टीको आधिकारिक निर्णय कुरेर बसेका छन् । भागवण्डा छिटो टुंगो लगाएर सरकार गठनको प्रक्रिया थाल्नुपर्ने नेताहरूले अनौपचारिक सहमति गरेका छन् ।

एकै ठाँउमा उभिएका दल मिलेर सरकार गठनमा पनि ढिला गर्न नहुने कांग्रेसको तर्क छ । राष्ट्रपति उपराष्ट्रपति निर्वाचन पहिले नै गण्डकीमा सरकार गठन गर्नुपर्नेमा कांग्रेसले जोड गरिरहेको छ । तर, निर्वाचन आचारसंहिताका कारण तत्काल सरकार बन्ने सम्भावना भने देखिँदैन ।

पुरानो दल ब्युँतिएपछि माओवादीले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यसले पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै सरकार फेरबदलको रस्साकस्सी सुरु हुने अनुमान छ ।

    सम्बन्धित समाचार...