१६ बैशाख २०८१, आईतवार

गठबन्धनलाई बहुमत पुर्‍याउन जटिलता कोसी प्रदेशमा: सरकारले निरन्तरता पाउने मुख्यमन्त्री कार्कीको दाबी

hikmatkumar karki

केन्द्रमा राजनीतिक समीकरण फेरिएपनि कोसी प्रदेशमा आफ्नै नेतृत्वकै सरकारले निरन्तरता पाउने एमालेले दाबी गरेको छ । त्यसो त निर्वाचन अघि देखिएको एमाले र राप्रपाबीचको गठबन्धनले निरन्तरता पाएसम्म कोसी प्रदेश सरकारको फेरबदल सहज देखिदैन ।

पछिल्ला राजनीतिक घटना क्रमले केन्द्रको राजनीतिक समीकरण फेरिएपनि तत्काल कोसी प्रदेश सरकार नफेरिने भएको छ । कोसी प्रदेश सरकारलाई समर्थन गरेर सरकारमा रहेका नेकपा माओवादी केन्द्र र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएपछि सरकारको संकट तत्काललाई हटेको हो ।

९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ । कांग्रेस नेतृत्वको पछिल्लो गठबन्धनमा ४७ जना प्रदेशसभा सदस्य छन् । गठबन्धन कै एक घटक नेकपा माओवादी केन्द्रका बाबुराम गौतम सभामुख छन् । सदनमा कुनै विषयमा मत बराबर भए सभामुखले निर्णायक मत दिन पाउने व्यवस्था छ ।

नयाँ बन्ने सरकारले विश्वासको मत लिँदा कुनै प्रदेशसभा सदस्य अनुपस्थित भएर मत बराबर नभएको स्थितिमा सभामुखले निर्णायक मत दिन नपाउने भएकाले नयाँ बन्ने सरकारले विश्वासको मत नपाउने अवस्था आउने देखिन्छ । राप्रपाले नयाँ समीकरणलाई सहयोग नगर्ने र नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन प्राविधिक जटिलता भएका कारण एमाले नेतृत्वको सरकारले निरन्तरता पाउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको दाबी छ ।

कोसी प्रदेशको वर्तमान सरकारमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका छ र जसपाका एक गरी ६० जना प्रदेशसभा सदस्य छन् । कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका चार जना गरी विपक्षमा ३३ जना प्रदेशसभा सदस्य छन् ।

    सम्बन्धित समाचार...