१५ बैशाख २०८१, शनिबार

भीम रावल भन्छन्- नेपाललाई राजनीतिक प्रयोगशाला बनाउन खोजिँदै छ

bhim rawal 1
फाइल फोटो

नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई द्वन्द्वकालका भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्ने सर्वोच्च अदालतको आदेश विदेशी चलखेलको मैदान बनाउने व्यूहरचनाकै निरन्तरता भएको आरोप लगाएका छन् ।

‘यो राजनीतिलाई झन् झन् अस्थिर र अन्योलग्रस्त बनाउने, सिद्धान्तहीन, नीतिविहीन गन्तव्यविहीन गठबन्धन गर्ने, अर्थतन्त्र बरबाद गर्ने, स्रोत र साधन बाह्य शक्तिको हातमा पुर्याउने र मुलुकलाई विदेशी चलखेलको मैदान बनाउने व्यूहरचना अन्तर्गतको एउटा सिलसिला हो । अब मुद्दा मामिला गरेर मुलुक कुन गन्तव्यमा पुग्छ ?’ ‘नेपाली बहस’ कार्यक्रमसँग संवाद गर्दै रावलले भने ।

राष्ट्रपति निर्वाचनमा आफ्नो व्यक्तिगत सद्भाव सुवासचन्द्र नेम्बाङलाई भएको पनि उनले औंल्याए । रावलले थपे, ‘म नेकपा एमालेको सदस्य हुँ । सुवासचन्द्र नेम्बाङ र म मित्र हौं । मेरो सद्भाव उहाँलाई हुने नै भयो । उहाँ मेरो पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्छ । तर मैले भनेर जित्ने वा नजित्ने होइन । म सांसद पनि होइन । त्यो आठ दल र अरु दलको हातमा छ । संख्याका हिसाबले आठ दलको मतभार बढी छ । निर्वाचनको दिनसम्म कुनै नाटकीय मोड लिन्छ कि ?’

उनले राष्ट्रपति निर्वाचनलाई पदीय दुरुपयोग गर्ने र शक्तिको अभ्यास गर्ने हिसाबले लिइएकोमा आपत्ति जनाए । शासकीय प्रणाली परिवर्तनको चर्चाबारे रावलले टिप्पणी गरे, ‘हामीले दुईदुई पटक संविधानसभा निर्वाचन गर्‍यौं । आठ वर्षमा अर्बौं खर्च गरेर बनाएको संविधानमा अहिले नै फेरबदल गर्न खोज्नु पनि निरर्थक छ । एउटा संविधानको राम्रो कार्यान्वयन नगरी मुलुकलाई राजनीतिक प्रयोगशाला बनाउन खोज्नु गलत हो ।’ देशी-विदेशी शक्तिकेन्द्रहरुले मुलुकलाई निरन्तर अस्थिर बनाएर दुर्दशामा पुर्‍याउन खोजेको आरोप लगाउँदै उनले राजनीतिक नेतृत्वलाई समयमै सच्चिन आग्रह पनि गरे ।

    सम्बन्धित समाचार...