१९ बैशाख २०८१, बुधबार

क्रिकेटर सन्दीप विदेश जान पाउने, थुनामा राख्नु नपर्ने

Sandeep Lamichhane

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई देशबाहिर गएर खेल्न पाउने सर्वोच्च अदालतले फैसला गरेको छ । उनलाई थुनामै राखेर मुद्दा अगाडि बढाउने तथा देशबाहिर खेल्न जान पाउनुपर्ने भन्दै परेको निवेदनमाथिको सुनुवाइबाट क्रिकेट खेल्न देशबाहिर जान पाउने फैसला आएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको स‌ंयुक्त इजलासमा हिजो (आइतबार) बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको निवेदनमाथिको सुनुवाइ आज (सोमबार) भएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले थुनामै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग र लिग टुअन्तगर्तको सिरिज खेल्न यूएई जान पाऊँ भनी लामिछानेले दिएको निवेदनलाई एउटै इजलासमा राखेर सुनुवाइ गरिएको हो ।

इजलासको आदेशपछि लामिछाने बाहिर गएर खेल्न पाउने भएका हुन् ।

उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनीमाथि लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा समावेश गरेको थियो । उनले लिग टुअन्तर्गत घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिज खेलेका थिए । विश्व क्रिकेट लिग टुअन्तर्गत आज (सोमबार) देखि यूएई सिरिज सुरु भएको छ ।