३१ बैशाख २०८१, सोमबार

कुनै उजुरी परेन राष्ट्रपतिका उम्मेदवारविरुद्ध

rastrapati

राष्ट्रपति पदका लागि परेको उम्मेदवारी विरुद्ध आज (आइतबार) उजुरी दिने समय तोकिएको थियो । तोकिएको समयभित्र दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेन ।

राष्ट्रपति पदका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सूचना जारी गर्दै दुवै उम्मेदवारीविरुद्ध उजुरी नपरेको जनाएकी हुन् ।

शर्माद्वारा जारी सूचनामा भनिएको छ, ‘आसन्न राष्ट्रपति निर्वाचन २०७९ का लागि निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार आज मिति २०७९/११/१४ गते बिहान १० बजेदेखि २ बजेसम्म राष्ट्रपति पदमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएकामा सो समयभित्र कुनै पनि उजुरी नपरेको व्यवहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

उजुरीमाथि जाँचबुझ गर्ने समय भोलि (सोमबार) का लागि तोकिए पनि उजुरी नपरेपछि जाँचबुझको प्रक्रिया गर्नु नपर्ने भएको छ । बरु फागुन १६ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

राष्ट्रपतिका लागि मतदान फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म हुनेछ । निर्वाचनमा संघीय संसद्का ३३२ र सातै प्रदेशका ५५० प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।

दलीय गडजोड हेर्दा कांग्रेसका पौडेलको पक्षमा बहुमत देखिएको छ । एमालेले दलीय ह्विप नलाग्ने भएकाले नेम्वाङका पक्षमा मत तान्ने दाबी गरेको छ ।

Nirbachan

    सम्बन्धित समाचार...