५ जेष्ठ २०८१, शनिबार

‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छैन’

prakash saran mahat
फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताएका छन् । आठ पार्टी प्रस्ताव र समर्थन पौडेललाई राष्ट्रपति बनाउन एकमत रहेको पनि उनले बताए ।

आठ दलीय गठबन्धनमा दरार आउने कुनै गुन्जायस नभएको पनि उनले दाबी गरे । उनले भने, ‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रको भोट एमालेलाई आउँछ भन्ने केपी ओलीजीको भनाइमा कुनै दम छैन । उहाँले कतै धमिलो पानी बनाउन सकिन्छ कि भन्ने मानसिकतामा बोल्नुभएको हो । त्यो पूरै असफल हुने स्पष्ट छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै महतले भने ।

शेरबहादुर देउवाको रोजाइमा पौडेल नै किन पर्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘पार्टीमा सिटौलाजी, गोपालमानजी, मानबहादुरजी योग्य नेता नै हुनुहुन्छ । उहाँहरुको सहृदयताका साथ समर्थन गरेपछि शेरबहादुरजी सर्वसम्मतिबाट सभापतिले निर्णय लिनुभएको हो । पौडेल पार्टीमा शेरबहादुरजीपछि दोस्रो वरियताको नेता र पूर्व सभामुख हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी कालदेखि लगातार जेलनेल भोग्नुभएको छ । देशभरिका कार्यकर्तामा त्यो भावना थियो । ‘

अझै पनि एमाले सत्तामै रहन चाहेकाले सरकारका विषयमा कुनै कुरा नभएको उनको भनाइ छ । सुवासचन्द्र नेम्वाङको योग्यतामा कुनै प्रश्न नभए पनि संविधान रक्षाका निम्ति पौडेललाई नै मतदान गर्नुपर्छ भन्ने प्रबल भावना एमालेभित्र पनि रहेको दाबी उनले गरे ।

आलोपालो प्रधानमन्त्रीको सहमति नभएको पनि प्रवक्ता महतले बताए । उनले भने, ‘त्यस्तो कुनै सहमति भएको छैन । तर त्यसको समय आएपछि निर्णय गर्न कुनै कठिन छैन । भोलिको परिस्थिति कस्तो बन्छ, त्यस आधारमा अघि बढ्न आठ दल तयार छन् ।’