१७ बैशाख २०८१, सोमबार

देउवासँग परामर्शपछि राप्रपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्री दाहालको तयारी

prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने तयारी थालेका छन् । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार भने आज विहान ९ बजे टुँगो लगाउने भएको छ । कांग्रेसबाट राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको दाबी छ । तर, सभापति शेरबहादुर देउवाले भने पौडेललाई राष्ट्रपतिमा वचन दिइसकेका छन् । एमाले, रास्वपा र राप्रपासहितको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपतिको निर्वाचनको मुखमा आएपछि उक्त गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएका हुन् ।

नयाँ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा सहभागी छन् । प्रधानमन्त्री दाहालले राप्रपाका मन्त्रीहरुलाई संविधान र व्यवस्थामाथि नै प्रहार गरेको भन्दै उनीहरुलाई सरकारबाट हटाउने संकेत गरेको बालुवाटार बैठकमा सहभागी एक नेताले बताए ।

एमालेले भने नयाँ गठबन्धन बनेसँगै सरकारबाट आज नै फिर्ता हुने निर्णय गर्दैछ । भोलि एमालेको सचिवालय बैठक बस्दैछ । सो बैठकले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिनेबारे पनि निर्णय गर्दैछ ।

राप्रपालाई हटाएर पहिलो चरणमा कांग्रेसलाई सहभागी गराउने दाहालको तयारी छ । यसको लागि उनले हिजै देउवा र माधव नेपालसँग पनि छलफल गरेका थिए । एमालेले आज नै सरकारबाट बाहिरिने निर्णय गरे कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा मन्त्रीहरु सहभागी गराउने दाहालको योजना छ ।

    सम्बन्धित समाचार...