२ जेष्ठ २०८१, बुधबार

तीन नेतावीच बालुवाटारमा गोप्य सहमति : आलोपालो प्रधानमन्त्री, राष्ट्रपतिमा रामचन्द्र

Deuba Prachand Madhav Nepal

नेपाली कांग्रेसले राष्ट्रपतिमा ८ दलीय सहमति पाएसँगै कांग्रेस, माओवादी र एकीकृत समाजवादीका तीन नेतावीच आलोपालो प्रधानमन्त्री चलाउने अर्को भित्री सहमति जुटेको छ । राष्ट्रपतिमा भने नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई अगाडि सार्ने सम्भावना बढेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन जनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार ८ दलवीच राष्ट्रपतिका विषयमा मात्रै छलफल भएको थियो । प्रधानमन्त्रीको कार्यकाल वा उपराष्ट्रपतिको चुनावबारे छलफल भएको थिएन ।

तर, ८ दलको बैठककै वीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालवीच अलग्गै छलफल भएको थियो ।

तीन नेताको छलफल अनुसार पाँचवर्षे कार्यकालको मध्यान्तरमा दाहालले माधव नेपाललाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने छन् भने अर्को चुनावको मुखमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । तर, आलोपालोको समयावधि भने तोकिएको छैन ।

त्यसैगरी उपराष्ट्रपति जसपालाई दिन तीन दलका नेताहरु सहमत बनेको माओवादी केन्द्रका एक नेताले कान्तिपुरलाई जानकारी दिए ।

यसैवीच, नेपाली कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने लगभग पक्कापक्की भएको कांग्रेस स्रोतले बताएको छ । तर, यसबारे कांग्रेसले शनिबार बिहानको बैठकबाट टुंगो लगाउने भएको छ ।

शनिबार दिउँसो १ बजे नयाँ बानेश्वरमा ८ दलका तर्फबाट राष्ट्रपतिको उम्मदेवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।