१७ बैशाख २०८१, सोमबार

केपी ओली कप फुटबल : सातदोबाटो युथ क्लब सेमिफाइनलमा प्रवेश

kpoli cup

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको चुनौती पन्छ्याउँदै सातदोबाटो युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लबले पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सातदोबाटोलाई जित दिलाउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे भने पुलिसका प्रवीण थापाले एक गोल फर्काएका थिए ।

सहिद स्मारक ए डिभिजन लिगको तयारीका रुपमा हेरिएको प्रतियोगिताको पहिलो खेलमा सातदोबाटोले सुखद् सुरुवात गरेको हो । सो क्रममा दीपकले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दीपकको गोलबाट अग्रता लिएको थियो ।

तर दोस्रो हाफको चौथो मिनेटमै पुलिसले पुनरागमन गर्‍यो । ४९औं मिनेटमा प्रवीणले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । बराबरी भए पनि दबाब दिएर खेलेको सातदोबाटोले ७१औं मिनेटमा दीपककै गोलबाट अग्रता दोब्बर बनायो । बाँकी समयमा थप गोल हुन सकेन र सातदोबाटोले अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजनको विजेता मछिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ र जावलाखेल युथ क्लब र आयोजक टोली केपी ओली एफसीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।

    सम्बन्धित समाचार...