२६ बैशाख २०८१, बुधबार

‘बहाव’लाई मध्यम परिवारको कथालाई देखाएका छौं

pramod

आगामी चैत २४ गतेबाट सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।

भारतको मुम्बई डिजिटल फिल्म एकेडेमीका पास आउट प्रमोद ‘बहाव’बाट उत्साहित छन् । प्रमोदले फिल्ममा पारिवारिक मनोभावको कथालाई पात्रमार्फत प्रस्तुत गरेको बताए ।

‘फिल्मले एउटा परिवारमा रहेका बाबुछोरीको मनोभावलाई प्रस्तुत गरेको छ । हामीले चितवनको मध्यम परिवारको कथालाई देखाएका छौं । यो कथाले चितवन मात्र नभई समग्र नेपाल बोल्छ । फिल्ममा दर्शकले एउटा परिवारमा हरेक दिन खाना खाने समयमा हुने सामाजिक, आर्थिक, राजनीति विषयमा हुने वैचारिक छलफलको भिन्नतालाई देखाइएको छ’, उनले भने । 

उनका अनुसार फिल्मले प्राचीन समयदेखि चलिएको परम्परालाई निरन्तरता दिने कि नयाँ विचारलाई प्रयोग गर्ने भन्ने विषयमा बाबुछोरीको अन्तरद्वन्द्वलाई देखाएको छ । फिल्ममा सुरक्षाले सन्ध्या रेग्मी र अभिनेता कमलमणि नेपालले केदार रेग्मीको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा सुरक्षालाई चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा माइक्रो बायोलोजी पढ्दै गरेकी २४ वर्षकी युवतीका रुपमा देखाइएको छ । ‘सुरक्षाले विद्यार्थी राजनीतिलाई नजिकबाट बुझ्दै ‘लेफ्ट’ विचारधाराको विकास गर्दै लगेकी छन् । ऊ आफन्त, छरछिमेक र समाजमा एउटा अनुशासित इमान्दार जिम्मेवारी केटीको रुपमा देखिए पनि उनको भित्री इच्छा फरक किसिमको छ । त्यही इच्छा अनुरुप ऊ समाजका नियम तोड्नु पर्ने प्रयासमा छे’, प्रमोद भन्छन् ।

सुरक्षाको पिताको भूमिकामा देखिएका अभिनेता कमल अर्थात् केदारले भारतको बनारसबाट आफ्नो विद्यार्थी जिवन पुरा गरेका हुन्छन् । संस्कृतमै श्लोक भन्न खप्पिस केदारमाथि बुवाको निधन पछि घर सम्हाल्ने जिम्मेवारी आइलाग्छ । ‘व्यवहार सम्हाल्नकै लागि केदार आफ्ना छोराछोरी भाई(गोपाल रेग्मी)लाई जिम्मा लगाएर श्रीमतिसँग जापान जान्छ । त्यहाँ १५ वर्ष बसेपछि परिवारसँग बस्न नेपाल फर्किन्छ’, प्रमोद कमलमणिको भूमिका प्रष्ट्याउँछन्, ‘घरगाउँमा छोरीको प्रशंसा सुन्दा केदार खुशी हुन्छन् । तर केदारको मन जति कमलो भए पनि व्यवहारमा उनी कडा छन् । त्यहीकारण छोराछोरीको गल्ती लुकाउन तयार हुने केदार समाजको नियमसँग डराउँछन् ।’

निर्देशक कँडेल नेपालले आफ्नै कथा खोज्नुपर्ने बताउँछन् । ‘त्यही कुरालाई हामीले फिल्ममा प्रयोग गरेका छौं । विदेशी फिल्मका सट छोडेर आफ्नै खालका सट प्रयोगको सुरु गरेको छौं । फ्रेम बनाउँदा हामीले क्यारेक्टरअनुसार फ्रेमको डिजाइन गरेका छौं । फिल्ममा हामीले सन्ध्यालाई देब्रे फ्रेममा र केदारलाई दाहिने फ्रेममा राखेको छौं’, प्रमोद भन्छन्, ‘फ्रेम बाट पनि कथा बनेको छ । दुवैको सम्बन्ध राम्रो हुँदा फ्रेमको मध्यविन्दुमा पात्रलाई नजिक ल्याउछौं । द्वन्द्व बढ्दै गएपछि फ्रेमका पात्र टाढिँदै गएको देखाएका छौं । यो फिल्म निर्माण गर्दा हामीले पूर्ण रुपमा फ्रेम कम्पोजिसन सिद्धान्तलाई तोडेर पात्र फ्रेम निर्माण गरेका छौं ।’

    सम्बन्धित समाचार...