६ जेष्ठ २०८१, आईतवार

ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार सवारी चालक कारबाहीमा

traffic
फाइल फोटो

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय ९४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सिसिटिभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सिसिटिभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा तीन हजार दुई सय ९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका एक हजार २२ गरी चार हजार तीन सय १४ जनालाई पक्राउ गरी कारबाही गरिएको जानकारी दिनुभयो ।

कार्यालयका अनुसार साउनमा तीन सय ४१, भदौमा छ सय ८०, असोजमा चार सय ८२, कात्तिकमा तीन सय ६६, मङ्सिरमा छ सय ६२, पुसमा नौ सय २५, माघमा आठ सय १४ र फागुनमा ४४ चालकलाई कारबाही गरेको हो । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रवक्ता भट्टले बताउनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् ।

ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन विसं २०७४ बाट सिसीटिभी र विसं २०७५ बाट ‘सर्भिलेन्स भेहिकल’ द्वारा निगरानी गर्दै आएको छ ।

    सम्बन्धित समाचार...