५ जेष्ठ २०८१, शनिबार

एक वर्षदेखि ओढारको बास

Odar ma bas1676942014

बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् ।

सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै एक वर्षदेखि ओढारमै आश्रय लिएका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए ।

“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ”, उनले भने, “उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्नुपरेको हो ।”

राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न, कुराकानी गर्न सक्छन ।

काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेस ढुङ्गानाले बताए । “मेरो भँैसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो”, उनले भने, “काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्छन ।”

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ । उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ ।

रातमा चितुवाको समेत डर छ । कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन । “ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो”, उनले भनिन, “अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।” रासस

    सम्बन्धित समाचार...