२२ बैशाख २०८१, शनिबार

स्कटल्यान्डविरुद्ध नेपाल पहिले फिल्डिङमा

Nepali cricket team

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु भएको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरिरहेको हो । सुरुवाती ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ओपनर ब्याटरको रुपमा काइल कोएत्जर र जर्ज मुन्सीलाई क्रिजमा उतारेको छ । ५ ओभरको खेल सकिँदासम्म स्कटल्यान्डले बिना विकेटको क्षति २१ रन जोडेको छ ।

जारी सिरिजमा नेपाल अपराजित छ भने स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो।

नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ । यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ । यदि आज हार टारे नेपाल लिग टु सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ । यस्तै स्कटल्यान्डलाई लिग टु को पुरै सिरिजमा कुनैपनि टिमले लगातार दुई खेलमा हराउन सकेको छैन ।

उच्च फर्ममा रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ । कप्तान रोहित पौडेलले मामेन्टम नेपालको पक्षमा रहेको र आज पनि त्यसैलाई निरन्तरता दिने बताएका छन् । अघिल्ला खेलमा गरेको प्रदर्शनले २ सय ८० माथि रनको लक्ष्य पनि पूरा गर्न सक्छौ भन्ने आत्मविश्वास ब्याटरमा रहेको उनको भनाइ छ ।

हिजो (सोमबार) भएको खेलमा स्कटल्यान्डसँग नामिबिया पराजित भएपछि त्यसको फाइदा पनि नेपाललाई पुगेको छ । लिग टु च्याम्पियन स्कटल्यान्ड अन्तिम खेल जित्दै ट्रफी उचाल्न चाहन्छ । स्कटल्यान्डलाई लिग टुको ट्रफी आजै प्रदान गरिनेछ । कप्तान रिच्ची बेरिङटनले ३ खेल जितेर मनोबल उच्च बनाएको नेपाललाई हराउन सहज नहुने बताए ।

नेपाल २७ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ । लिग टुका बाँकी ९ मध्ये ६ मा जित हात पारे नेपालको ओडिआईले निरन्तरता पाउनेछ ।

    सम्बन्धित समाचार...