७ जेष्ठ २०८१, सोमबार

गठबन्धन सुदूरपश्चिमबाटै हल्लिसकेको छ, केन्द्रमा अतिरिक्त मिहिनेत चाहिँदैनः पौडेल

pradip poudel
फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेल राष्ट्रपतिमा नेकपा एमालेको दाबी स्वाभाविक नभएको बताएका छन् ।

‘राष्ट्रपति कसलाई दिनुपर्छ भन्दा पनि विगतमा हामीले कसरी अभ्यास गर्‍यौं भन्ने पक्ष महत्त्वपूर्ण छ । वर्तमान राष्ट्रपति संविधानको संरक्षक र राज्यको अभिभावक भएको देखिएन । कहिले कार्यकारी प्रमुखको स्बर स्टाम्प बन्ने, कहिले कार्यकारी प्रमुखको विपरीतमा जाने खालको शक्ति संघर्ष पनि देखियो । अब त्यस्तो दुरुपयोगको अन्त्य गर्नुपर्छ । एमालेले राष्ट्रपतिलाई जसरी बुझेको छ, त्यसरी बुझ्नु हुँदैन । तसर्थ एमालेको दाबी स्वाभाविक हुनै सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा कुरा गर्दै पौडेलले भने ।

कांग्रेस नेता पौडेलले कांग्रेसले संवैधानिक मर्यादा बुझेको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउने पनि बताए । उनले भने, ‘राष्ट्रपति संवैधानिक प्रक्रिया र प्रतिस्पर्धाबाट आउने हो । त्यसैले दाबीलाई परिणाममा पुर्‍याउने विषय प्रमुख हुन्छ । हामी संविधान निर्मातासमेत रहेका नेताहरुलाई नै उम्मेदवारका रुपमा प्रस्तुत गरेर जान्छौं । तर नाम टुंग्याउन बाँकी छ ।’

साथै उनले रामचन्द्र पौडेल, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ लगायतका पार्टीका शीर्ष नेताहरुमध्येबाटै उम्मेदवार बन्ने संकेत गरे । आफ्नो दलबाहेक अरु उम्मेदवारबारे पार्टीमा छलफल नभएको पनि उनले स्पष्ट पारे ।

राष्ट्रपति निर्वाचनका लागि अर्को गठबन्धन गर्ने कोसिस गर्ने पनि कांग्रेस नेता पौडेलले बताए । उनले थपे, ‘राष्ट्रिय सहमतिका लागि सबै दलको सहमति हुनुपर्छ । तत्काल त्यो सम्भव छैन । आफूसँग पर्याप्त मत नभएकाले हामी अन्य दललाई विश्वासमा लिएर समन्वयकारी भूमिका निर्वाह गर्न तयार छौं ।’

वर्तमान गठबन्धनमा समस्या भएकाले बालकोट र बालुवाटार दौडधुप चलिरहेको आरोप पनि उनले लगाए । पौडेलले भने, ‘संविधानले नचिनेको संयन्त्र बनेको छ । त्यसको बैठकमा सात दलमध्ये आधा पनि उपस्थित हुँदैनन् । गठबन्धन सुदूरपश्चिमबाट हल्लिएको छ । त्यो कांग्रेसले ढोक्सा थापेर ढलेको होइन । उहाँहरुबीचको समझदारी भत्किएर र सँगै बस्न नसकेर हो । गठबन्धन भत्काउने कांग्रेसले केही गर्नै पर्दैन ।’

प्रचण्ड नेतृत्वको सरकारले बहुमत सुरक्षित नभए संसद्ले नयाँ निकास दिने पनि पौडेलको कथन छ । उनले भने, ‘हामी सरकारमा जाँदै जाँदैनौ पनि भन्दैनौं । कुनै पनि हालतमा जानुपर्छ भनेका पनि छैनौं । गठबन्धन भत्किएको स्थितिमा कांग्रेससँग नजोडीकन नयाँ सरकार सम्भव छैन । तर सरकार ढलोस् भन्ने हाम्रो कुनै मनसाय छैन ।’

    सम्बन्धित समाचार...