३१ बैशाख २०८१, सोमबार

नेपालले भारतलाई बराबरीमा रोक्यो

Nepal

नेपाली महिला फुटबल टिमले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा दुई-दुई गोलको रोमाञ्चक बराबरी खेलेको छ । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन् ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा १३औं मिनेटमा सावित्रा भण्डारीको प्रहार बाहिरिँदा नेपालले अग्रता बनाउने अवसर खेर फाल्यो । डिबक्सभित्रको उनको प्रहारले सही दिशा लिन सकेन । खेलको ३३औं मिनेटमा सावित्रा भण्डारीले गोलको अर्को मौका गुमाइन् ।

सरु लिम्बूले मैदानको मध्यभागबाट उपलब्ध गराएको पासलाई डिबक्स बाहिरबाट सावित्राले गरेको प्रहार पुनः बाहिरियो । त्यसको एक मिनेटपछि भारतले अग्रताको मौका खेल फाल्यो । बालादेवीले डिबक्सभित्र मौका बनाए पनि नेपाली डिफेन्डरले क्लियर गरे । ३६औं मिनेटमा डाङमी ग्रेसको हेडर गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले क्लियर गरेपछि नेपालले खतरा टार्यो ।

४३औं मिनेटमा विमला चौधरीले डिबक्सभित्रको सहज अवसर खेर फालिन् । पहिलो हाफमा गोलरहित बराबरी खेले पनि भारतले दोस्रो हाफमा अग्रता लियो । ५६औं मिनेटमा नेपालले पहिलो गोल व्यहोरेको थियो । मनीषा कल्यानको क्रसमा सोम्या गुगुलोथले गोल गरिन् । ६८औं मिनेटमा दुई डिफेन्डरलाई बिट गर्दै इन्दुमतीले गोल गरेपछि भारतले दुई-शून्यको अग्रता बनायो । खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत सावित्राले गोल गरेपछि नेपालले अग्रता घटायो ।

स्विटीदेवीले डिबक्समा ह्यान्ड गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसको एक मिनेटलगत्तै सावित्राले तीन डिफेन्डरलाई छलाउँदै दोस्रो गोल गरेपछि नेपालले खेलमा रोमाञ्चक बराबरी गर्यो ।

सियिनर टिमले भदौपछि पहिलोपटक भारतको सामना गरेको हो । भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई एक-शून्य गोलले हराउँदै इतिहास रचेको थियो । महिला टोलीले भारतलाई पराजित गरेको त्यही पहिलोपटक हो । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुक्रबार हुनेछ ।

    सम्बन्धित समाचार...