६ जेष्ठ २०८१, आईतवार

एक बालकलाई ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट

20230210 121203.jpg

महोत्तरीको बर्दिबासमा एक बालकलाई ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट गरिएको छ ।

बर्दिबास-१२ बस्ने १४ वर्षीय इन्द्रजित कुमार महतोलाई माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापूर्वक कुटपिट गरेका हुन ।

पीडित परिवारकारअनुसार स्थानीय युवाहरू रञ्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रञ्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर कुटपिट गरेका कारण बालकको शरीरभरि चोटपटक लागेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरूले बालकलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै आरोपित मध्यका सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारले बताए ।

गत २३ माघमा भएको उक्त घटनाको अहिले खुलासा भएको हो । सो दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजे मात्र छाडेको पीडित वालक इन्द्रजित महतोले बताए । `मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाँधेर झुन्ड्याएर कुटपिट गरे, पीडित इन्द्रजितले रूदैँ भने, `खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुबाए अनि पैतालामा पनि असहाय हुने गरी पिटे, टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे ।

पीडित बालकको पैतालामा सिर्कनाले हानेको अझै नीलडाम देख्न सकिन्छ । हिँडडुल गर्न समेत समस्या बनिरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन् ।

महतोको पछाडि ढाडमा लट्ठीले हानेजस्तो सुम्ला देखिन्छ भने खुट्टामा समेत गहिरो नीलडाम छ । निर्घात कुटपिट गरेर बेलुका छाडेपछि पीडित परिवारजनले गाउँमा नै रहेको सुरज बस्नेतको क्लिनिकमा पुर्‍याएर उपचार गरेका थिए । `उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन,´ पीडित बालकका आमा कोशिला देवीले भनिन । सो घटना पछि कोशिला देवीलाई समेत घरमा आएर ती युवाहरूले अभद्र व्यवहार गरेको थिए ।

पीडित वालकका बुबा भोला महतो बर्दिबास स्थित एक बेकरीमा काम गर्छन् । आफ्नो छोरालाई निर्घात कुटपिट गर्ने युवाहरूलाई कडा कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।

यता घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएतापनि प्रहरीले त्यसको खासै वास्ता गरेको छैन । हात्तिलेट स्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएता पनि पीडितहरू नै जाहेरी दिन नआएको जिकिर गरेका छन् । तर पीडित पक्षले प्रहरी चौकीबाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दाबी गरेका छन् ।

तर, प्रहरी उपरीक्षक प्रकाश मल्लले पनि घटनाको विषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बत्ताएका छन् ।

    सम्बन्धित समाचार...