६ जेष्ठ २०८१, आईतवार

नागरिक उन्मुक्ति अनुपस्थित सुदूरपश्चिम प्रदेश सभा बैठकमा, मुख्यमन्त्री रावलको पद धरापमा

1675940177 HVz5B

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित छैनन् । उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी  केवल २१ मत छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन थियो ।

बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन् । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।

संविधानको धारा १६८ (२) बमोजिम नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता रावलले उपधारा ४ बमोजिम बिहीबार साँझ ५ बजेभित्र विश्वासको मत पाइसक्नुपर्छ, अन्यथा उनी संविधानबमोजिम नै स्वतः पदमुक्त हुनेछन् ।

    सम्बन्धित समाचार...